साप्ताहिक संवाददाता
आईसीसी वुमेम्स क्वालिफायर–२०१९ बाट नेपाल अर्को चरण पुग्न असफल भए पनि व्यक्तिगत रूपमा कप्तान रुबिना क्षेत्रीका लागि भने प्रतियोगिता गज्जब नै रह्यो । रुबिनाले कुवेतविरुद्ध
ह्याट्रिक गरेकी थिइन् र संयोगले उनको यो दोस्रो ह्याट्रिक थियो । क्रिकेटमा ह्याट्रिक आफैंमा दुर्लभ उपलब्धि मानिन्छ । आखिर लगातार तीन बलमा तीन विकेट लिन कहाँ सजिलो हुन्छ र ? रुबिनाले यसअघि सन् २००९ मा पनि ह्याट्रिक गरेकी थिइन र त्यति बेला नेपालको प्रतिद्वन्द्वी थियो– सिंगापुर ।
नेपालका लागि अरू दुई महिला खेलाडीले पनि ह्याट्रिक गरेका छन् र ती हुन्— करुणा भण्डारी र सबनम राई । करुणाले सन् २०११ मा कुवेत र सबनमले सन् २०१७ मा थाइल्यान्डविरुद्ध तीन बलमा तीन विकेट लिएका थिए ।
अब नागरिकता प्राप्त हुने हो कि ?
आईसीसी वुमेम्स क्वालिफायर–२०१९ अप्सरा बेगमका लागि सम्झनालायक रह्यो । उनले त्यसमा राम्रो प्रदर्शन गरिन् । झापाकी यी खेलाडी नेपालका लागि क्रिकेट खेल्ने पहिलो मुस्लिम महिला हुन् । यद्यपि एउटा नरमाइलो पक्ष के भने यी १९ वर्षीया खेलाडीले अहिलेसम्म नागरिकता भने प्राप्त गर्न सकेकी छैनन् । यही कारणले उनको विदेश भ्रमण जहिले पनि जटिल हुन्छ ।
उनका बुबाको नागरिकता जन्ममा आधारमा बनेको हुँदा समस्या सिर्जना भएको हो, जबकि उनकी आमाको नागरिकता वंशजकै आधारमा छ । अप्सराले नागरिकता नपाएको समाचार सार्वजनिक भएपछि झापाका राजनीतिकर्मी एवं अधिकारवादीहरू सक्रिय भएका छन् । आशा गरौं, नेपालका लागि राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी खेलाडीले अब त पक्कै नागरिकता प्राप्त गर्ने छिन् ।