अघिल्लो साता प्रसारणको २ सय भाग पूरा गरेको हास्य श्रृंखला भद्रगोल टेलिभिजन तथा युट्युब दुवैमा निकै लोकप्रिय छ । यो श्रृंखलाका अधिकांश कलाकार दर्शकमाझ भिजेका छन् । तिनै पात्रमध्ये एक हुन्— खुपीका बा । श्रृंखलाको पहिलो भागदेखि नै उक्त चरित्र निर्वाह गदै आएका कमलमणि नेपाल रंगमञ्चमार्फत अभिनय क्षेत्रमा आएका हुन् । बाहुनी, मोरङका यी स्थायी बासिन्दाले केही दर्जन नाटकमा अभिनय गरेका छन् भने थुप्रै चलचित्रमा फरक–फरक भूमिका निर्वाह गरेका छन् । चलचित्र धन्दामार्फत रजतपटमा आएका नेपालले यो अवधिमा लोफर, अन्तराल, कबड्डी, कबड्डी–कबड्डी, जात्रा, मिस्टर झोले, लालपुर्जा, चंगा, बादशाह जुट, मेरो पैसा खै, मिस्टर भर्जिन, माछा माछा तथा हिन्दी चलचित्र इन्डियाज मोस्ट वान्टेडमा अभिनय गरिसकेका छन् । अभिनयका सबै विधामा काम गरिसकेका नेपालले साप्ताहिकमार्फत आफm्ना केही सेक्रेट कुरा यसरी व्यत्त गरे ः
दार्ही
मेरो गालाको झ्पाप्प दार्हीको आफ्नै विशेषता छ । मलाई अभिनयको प्रस्ताव राख्ने अधिकांश निर्देशकले सबैभन्दा पहिले मेरो दार्हीको आकार नै वाच गर्छन् । कसैलाई अलि लामो दार्ही चाहिन्छ, कसैलाई अलि छोटो । त्यही बाध्यताका कारण मैले आफ्नो गाला चिल्लो बनाउने मौका विरलै पाउँछु । अर्को शब्दमा भन्नुपर्दा दार्ही मेरो पहिचान जस्तै भैसकेको छ ।
विपिन कार्की
अभिनेता विपिन कार्की मेरा छिमेकी हुन् । उनका दाइ अर्जुन कार्की र म अभिनय गर्ने हिसाबले गाउँ (बाहुनी) बाट सँगै काठमाडौं छिरेका थियौं । काठमाडौं आएर म रंगमञ्चतर्फ आकर्षित भएँ भने अर्जुनचाहिं चलचित्रतर्फ गए । म गुरुकुलमा आबद्ध भएपछि बिपिन पनि काठमाडौं आए । मेरै संगतमा उनी गुरुकुल आउन–जान थालेपछि उनको अभिनय यात्राले गति लिन थालेको हो ।
बजार व्यवस्थापक
२०५६–५७ सालताका काठमाडौं आएपछि खान–बस्नकै समस्या थियो । त्यसका लागि जागिर खानै पर्ने बाध्यता भयो । मैले जीवनमा पहिलो पटक खाएको जागिर नै बजार व्यवस्थापकको थियो । त्यति बेला झन्डै दुई वर्ष म कान्तिपुर फाइनान्सको बजार व्यवस्थापकका रूपमा काम गर्दै काठमाडौंका कुना–काप्चा चहारेको थिएँ ।
खुपीका बा
भद्रगोल श्रृंखलामा मेरो चरित्रको नाम पहिले ए होइ, ए होइ थियो । पूर्वतिर बोलीचालीको भाषामा ए होइ, ए होइ के त भन्दा आखिरमा त्यही...भन्ने चलन छ । मैले निर्वाह गर्ने चरित्रले ए होइ ए होइ भन्ने थेगो बोल्नुपर्ने थियो । पात्रको नामचाहिं खुपीका बा थियो । रमाइलो कुरा के रह्यो भने झापाको गौरादहमा वास्तविक जीवनमै खुप्पी र खुपीका बा भन्ने व्यक्ति रहेछन् । केही साताअघि मात्र मैले उहाँहरूसँग भेट्ने मौका पाएँ ।
ढकनी
मानिसहरू प्रायः कुनै न कुनै परिकारका पारखी हुन्छन् । मेरा लागि भने दूधबाट तयार पारिने परिकार ढकनी असाध्यै प्रिय छ । तीजको दरमा यो परिकार छुट्दैन । म ढकनी भनेपछि हुरुक्क हुन्छु र पेटले मागुन्जेल यो परिकार खाइरहन सक्छु ।
साँच्चिकै बुवा
मलाई अधिकांश दर्शकले अविवाहित मान्नुहुन्छ । वास्तवमा मेरो विवाह भएको १२ वर्ष भैसकेको छ । मेरा ११ वर्षका छोरा र ६ वर्षकी छोरी छिन् । अहिले मेरी छोरीलाई छरछिमेकमा खुपी भनेर जिस्क्याउँदा रहेछन् । मलाई त खुपीका बुवा भनेर बोलाएको सुन्ने बानी नै परिसकेको छ ।
शिक्षक
म अभिनयसँगै अध्यापनमा पनि सक्रिय छु । बुद्धनगरस्थित ओलम्पिया वर्ल्ड स्कुलमा म विगत ६ वर्षदेखि नाटक नै अध्यापन गराउँछु । हप्तामा ६ वटा कक्षा लिइरहेको छु । विद्यार्थीहरूलाई नाटक पढाउन पाउँदा आत्मसन्तुष्टि मिल्छ ।