साप्ताहिक संवाददाता
परीक्षण उडान सफल भएपछि लमजुङमा व्यवसायिक प्याराग्लाइडिङ उडान प्रारम्भ भएको छ । साहसिक पर्यटन प्रवर्द्धन गर्न युवा व्यवसायीहरूले पोखराबाट पाइलट झिकाएर दुई महिनाजति परीक्षण गरेका थिए । परीक्षण गरिएका ठाउँमध्ये बेसीसहर नगरपालिका–६, मकैडाँडाबाट उडान भरेर मर्स्याङ्दी नदी पार गरी बेसीसहर नगरपालिका–१०, भोटेफाँटमा अवतरण गरिएको थियो । यसअघि पुमाडाँडा र गाउँसहर दरबारको डाँडाबाट गरिएको परीक्षण उडान सफल भएको बताइन्छ । बेसीसहरस्थित ब्रदर्श अन्नपूर्ण टुर एण्ड ट्राभल्सका सञ्चालक अमीर गुरुङका अनुसार पोखराबाट आएका ५ जना टेन्डम पाइलट (संयुक्त उडाउन सक्ने चालक) ल्याएर व्यवसायिक उडान थालिएको छ ।
प्याराग्लाइडिङका टेन्डम पाइलट सुनिल थापाका अनुसार लमजुङको मकैडाँडादेखिको भोटेफाँटसम्मको हवाईमार्ग सहज र बढी उपयुक्त छ । पुमाडाँडाबाट उडान सहज भए पनि उडान भर्ने ठाउँमा मोटरबाटो नपुगेकाले ५/१० मिनेट हिँड्नुपर्छ । गाउँसहर लमजुङ दरबारबाट उडान गर्न सकिने भएपनि बेसीसहरमा अवतरण गर्ने ठाउँ दनाइँफाँट नजिकै विजुलीका तारबार भएकाले केही असहज महसुस गरिएको थापाले बताए । टेन्डम पाइलट राजेश बानियाँका अनुसार १५ मिनेटदेखि २५ मिनेटसम्म हावामा उडेर मकैडाँडा भोटेफाँट पुग्न सकिन्छ ।
यो प्याराग्लाइडिङका लागि प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । प्याकेजमै बेसीसहरदेखि जीपमार्फत उडान भर्ने ठाउँ लगिदिने, अवतरण गर्ने ठाउँ भोटेफाँटदेखि बेसीसहरसम्म ल्याइदिने, उडानका समयमा तस्बिर तथा भिडियो खिचेर उपलब्ध गराउने गरिएको छ ।