साप्ताहिक संवाददाता
सुनौलो सपना बुन्दै अमेरिका आउने नेपालीहरूको संख्या बढ्दो छ । यसरी अमेरिका भित्रिनेहरू आफूले कल्पना गरेजस्तो जीवन नपाएपछि खुसी हुन सक्दैनन् । निराशा र एकाकीपनबीच चिन्ताले ग्रस्त बनाउँदै लान्छ र अन्त्यमा उनीहरू मानसिक रोगको सिकार हुन पुग्छन् । उनीहरू अरू केही सोच्न सक्दैनन् र जीवनबाट टाढिन आत्महत्या गर्ने निर्णय लिन्छन् । अहिले अमेरिकामा नेपालीहरूले आत्महत्या गर्ने क्रम बढ्दो छ भने आत्महत्याको मुख्य कारण ‘डिप्रेसन’ बनेको छ । गएको मंसिर १३ गते क्यालिफोर्नियामा साथीसँग फोन गर्दागर्दै २४ वर्षीय युवा गणेश तिवारीले झुन्डिएर आत्महत्या गरे । नवलपरासी स्थायी घर भएका तिवारीले आफ्नै कोठामा प्राण त्यागे । उनी अध्ययनका लागि अमेरिका आएका थिए ।
विद्यार्थी भिसामै अमेरिका आएका सञ्जित भट्टले गएको भदौ २७ गते समुद्रमा हाम फालेर आत्महत्या गरे । घरबाट काममा जान भनेर हिँडेका भट्टले आफू जिन्दगीबाट बिरक्तिएको सुसाइड नोटसमेत लेखेका थिए । यसरी आत्महत्या गर्नेहरू प्रायः कुनै न कुनै समस्याले जकडिएकाहरू नै छन् ।
आत्महत्या गर्नेमा विद्यार्थीहरूको संख्या अत्यधिक छ । नेपालमा हुँदा बाबुआमाको लाडप्यारमा हुर्किएकाहरूले यता आएपछि ठूलै संघर्ष गर्नुपर्छ । विद्यार्थीलाई साताको २० घण्टा काम गर्ने छुट हुन्छ, तर उनीहरू पढाइ खर्च जुटाउन ५०– ६० घन्टासम्म काम गर्न विवश हुन्छन् । अध्ययनका क्रममा अनेकौं झमेलाको सामना गर्नुपर्ने हुन्छ । उनीहरू आफूले पाएको हन्डर र दुःख घरपरिवारसामु देखाउन चाहँदैनन् । त्यसै कारणले उनीहरू डिप्रेसनमा पर्छन् र आत्महत्याको बाटो रोज्छन् ।
यसरी आत्महत्या गर्नेमा विद्यार्थी भिसामा आउनेहरूबाहेक डिभी परेर तथा गैरकानुनी रूपमा आउनेहरूसमेत छन् । डिभी परेर आउनेहरू पनि यता आएपछि आफूले भने जस्तो केही नभएपछि मनमा पीडा बोकेर हिँड्छन् ।
हलिउडमा देखिने दृश्य तथा यहाँको जीवनशैलीले धेरैलाई लोभ्याउँछ । त्यो लोभ्याइले अमेरिका भासिने नेपालीहरूको संख्या दिन–प्रतिदिन बढ्दो छ । यता आइसकेपछि त्यो लोभलाग्दो जीवनशैलीमा आफूलाई समाहित गर्न सक्दैनन् । दुःखमा भिज्न नसक्दा धेरैलाई आफ्नै जिन्दगी देखेर दिक्दार लाग्छ । यसले धेरैलाई एक्लो बनाउँछ र आत्महत्या गर्न बाध्य तुल्याउँछ ।
केही वर्षअघि आफ्नै स्टोरमा काम गर्ने क्रममा समिरा शिवकोटी लुटेराको निशानामा परेर मुत्युवरण गर्न पुगिन् । दुई साना छोरी र श्रीमान् नवराजलाई उनको अभाव महसुस भयो । श्रीमतीको मुत्युपछि एक्लोजस्तो भएका नवराजले पनि अन्ततः आत्महत्याकै बाटो रोजे ।
झन्डै चार वर्षअघि दाङका मोहन ओलीले न्युयोर्कस्थित आफ्नो अपार्टमेन्टको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका थिए । दलाललाई लाखौं रकम बुझाएर मेक्सिको हुँदै अमेरिका आइपुगेका ओली अपेक्षा गरेजस्तो केही नभएपछि डिप्रेसनको सिकार भएका थिए । पारिवारिक तथा व्यक्तिगत कारणले अमेरिकामा नेपालीहरूको आत्महत्याको दर बढ्कोे देखिन्छ,’ एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह भन्छन्– ‘आफूमा परेको प्रेसर थेग्न नसक्दा यस्ता घटना बढ्नु दुःखद कुरा हो ।’ शाहका अनुसार अमेरिका आइसकेपछि धेरै काम गर्नुपर्ने लगायत आर्थिक बोझ थपिँदै जाँदा मानसिक दबाब बढेर पनि यस्तो समस्या देखिएको छ ।
शाहले भनेझैं अमेरिका आइसकेपछि फेरि शून्यबाट जीवन सुरु गर्नुपर्दा कतिपय हतोत्साहित हुँदै जान्छन् । यहाँको सिस्टममा भिज्न नसक्दा र आर्थिक समस्या बढ्दै गएपछि केही वर्षअघि शिकागोमा गुडिरहेको कारबाट हाम फाल्ने दिनेश श्रेष्ठको ज्यान गएको थियो । गाडी हाँकिरहेकी श्रीमतिसँग सामान्य विवाद भएपछि उनले त्यसो गरेको समाचार एजेन्सीहरूले दिएका थिए । यसरी आत्महत्या गर्नुको पछाडि केही पारिवारिक कारणसमेत जोडिने गरेका छन् । श्रीमान्–श्रीमतिको बेमेल तथा अविश्वासले पनि आत्महत्या दर बढाएको जानकारहरू बताउँछन् ।
कतिपय नेपाली केही अपराधमा फसेपछि पनि आत्महत्या गर्छन् । सन् २००८ मा नेपाली चिकित्सक शिवलाल आचार्यले जेलमै आत्महत्या गरेका थिए । सामाचार स्रोतका अनुसार उनले हाँकेको गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकल चालकको मुत्यु भयो । ठक्कर दिएर भागेपछि आचार्य हिट एन्ड रनको अपराधमा जेल पुगे । जेलमै उनी आत्महत्या गर्न विवश भएका थिए ।
अमेरिकामा नेपालीहरूमा आत्महत्या बढ्दै गए पनि त्यसको यकिन तथ्याङ्क भने फेला पर्दैन । पछिल्ला केही वर्षका घटना नियाल्दा दर्जनभन्दा बढी नेपालीले आत्महत्या गरिसकेका छन् ।