दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आएको चलचित्र ‘छक्कापञ्जा–३’ पछि उत्कृष्ट व्यवसाय गर्ने दोस्रो चलचित्र कुन हो ? भन्ने जिज्ञासाको जवाफ दिनुअघि धेरै बेर सोच्नुपर्ने हुन्छ । अघिल्लो साता प्रदर्शित चलचित्र ‘क्याप्टेन’ को वास्तविक व्यवसायको तथ्यांक सार्वजनिक भैसकेको छैन । यद्यपि यो चलचित्रले गरेको पहिलो तीन दिनको व्यवसाय २ करोड रुपैयाँभन्दा बढी रहेको निर्माताको भनाइलाई विश्वास गर्ने हो भने यो वर्ष छक्कापञ्जा–३ पछि सबैभन्दा बढी व्यवसाय गर्ने चलचित्रको दोस्रो स्थानमा यही चलचित्रलाई लिन सकिन्छ । यी दुई चलचित्रबाहेक गत वैशाखदेखि अहिलेसम्म प्रदर्शन भएका कुनै पनि चलचित्रलाई सुपरहिट भन्न सकिने अवस्था छैन ।
अर्को शुक्रबारदेखि वर्षको अन्तिम महिना अर्थात् चैत प्रारम्भ हुँदैछ । यसपटक चैतमा पाँचवटा शुक्रबार परेका छन् । रमाइलो कुरा के छ भने चैतका यी पाँचवटै शुक्रबार दुई–दुईवटा चलचित्र प्रदर्शन हुँदैछन् । पहिलो शुक्रबार त एकसाथ तीनवटा चलचित्र प्रदर्शनमा आउँदैछन् । अझ रोचक कुरा के छ भने, नयाँ वर्ष २०७६ को स्वागतका लागि भन्दै वर्ष अन्तिम शुक्रबार ठूलो लगानी गरिएका दुई चलचित्र आपसमा जुध्दैछन् । बाँकी चारवटा शुक्रवार प्रदर्शन हुने चलचित्रको औसत बजेट प्रतिचलचित्र १ करोडभन्दा कम छैन । एक तथ्यांक अनुसार चैत १ गतेदेखि २९ गतेसम्म प्रदर्शन हुने कुल ११ वटा चलचित्रमा करिब २० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । यी सबै चलचित्रले लगानी सुरक्षित गर्न मात्र करिब ६० करोड रुपैयाँ बराबरको व्यवसाय गर्नुपर्नेछ । ‘एक महिनामा यति ठूलो रकमको व्यवसाय कसरी सम्भव होला ? एक पुराना निर्माताले नाम उल्लेख नगर्ने शर्तमा भने— ‘बजारले धान्नै नसक्ने गरी चलचित्र निर्माण भैरहेका छन् । राम्रा भनिएका चलचित्र एकै दिन अनि एउटै महिना प्रदर्शन भएपछि यसले कसैलाई पनि राम्रो गर्दैन, सबैलाई घाटा मात्र हुन्छ ।’ ती निर्माताले नेपाली चलचित्रको सबैभन्दा ठूलो समस्या नै ठूला ब्यानरका चलचिक्र जुध्नु रहेको समेत दाबी गरे ।
चैत १ गते
चैत १ गते शुत्रबार तीनवटा चलचित्र द म्यान फ्रम काठमाडौं, जानी नजानी तथा पुरानो बुलेट एकसाथ प्रदर्शनमा आउँदैछन् । पहिलो पटक नेपाली तथा अंग्रेजी भाषामा निर्माण गरिएको चलचित्र द म्यान फ्रम काठमाडौंमा नेपाली मात्र होइन बलिउड, पाकिस्तानी तथा हलिउडका कलाकारहरूले समेत अभिनय गरेका छन् । चलचित्र प्रदर्शन गर्ने क्यूएफएक्सले निर्माण गरेको यो चलचित्र नेपाल तथा अमेरिकामा छायांकन गरिएकाले यसको बजेट औसत नेपाली चलचित्रको तुलनामा तीन गुणा बढी भएको सहजै अनुमान लगाउन सकिन्छ । उक्त चलचित्रमा ४ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको निर्माता नकिम उद्धिनले बताइसकेका छन् । यो चलचित्रमा जोसे मानुइल, गुल्सन ग्रोवर, हमिद शेखसंगै आना शर्मा, नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर वाङ्देल, सुनिता ठाकुर, परमिता आरएल राना आदि कलाकारले अभिनय गरेका छन् । पेमा धोन्डुप चलचित्र द म्यान फ्रम काठमाडौंका निर्देशक हुन् ।
रोमान्टिक कमेडी शैलीको ‘जानी नजानी’ पनि चैत १ गते नै प्रदर्शनमा आउने चलचित्र हो । वसन्त अधिकारीद्वारा निर्देशित यो चलचित्रका अधिकांश कलाकार नयाँ छन् । चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसीका अनुसार चलचित्र जानी नजानीमा करिब २ करोड रुपैयाँ लगानी गरिएको छ भने त्यसमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, रोशनी, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी आदि कलाकारले अभिनय गरेका हुन् । सागरकाजी माली तथा मोदनाथ खनालको समेत लगानी रहेको यो चलचित्रलाई सञ्चारकर्मी सामीप्यराज तिमिल्सिनाले लेखेका हुन् । चैत १ गतेदेखि नै प्रदर्शनमा आउने चलचित्र ‘पुरानो बुलेट’ लाई सञ्चारकर्मी भीषण राईले निर्देशन गरेका छन् । पूर्वी नेपालमा छायांकन गरिएको यो चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बू, कविता आले, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रको हालै हङकङमा प्रिमियर शो गरिएको थियो, जहाँ चलचित्र हेर्नेहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । पुरानो बुलेटका प्रस्तुतकर्ता सन्तोष राईले चलचित्रमा करिव एक करोड रुपैयाँ लगानी गरिएको बताएका छन् ।
चैत ८ गते
चैतको दोस्रो शुक्रबार दुईवटा चलचित्र कागजपत्र तथा प्रेमलिला प्रदर्शनमा आउँदैछन् । अपिल विष्टद्वारा निर्देशित चलचित्र कागज पत्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा तथा सरिता गिरी मुख्य भूमिकामा छन् । हास्य प्रधान यो चलचित्रमा अस्ट्रेलिया जान मरिहत्ते गर्ने नेपालीहरूको मनोवृत्ति चित्रण गरिएको छ । डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जाने नेपालीहरूले गर्ने कागजी विवाह नै यसको मुख्य कथा हो । इपी एजुकेसन, अस्ट्रेलिया प्रस्तुतकर्ता रहेको यो चलचित्रको निर्माण खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी तथा प्रजापति शिवाकोटीले गरेका हुन् । चैत ८ गतेदेखि नै प्रदर्शनमा आउने चलचित्र ‘प्रेमलिला’ रोमान्टिक चलचित्र हो । प्रेमकथामा आधारित यो चलचित्रमा प्रेमभित्रका अनेकौं लीला चित्रण गरिएको निर्माण पक्षले जनाएको छ । अन्तरदेशीय प्रेमकथामा आधारित यो चलचित्रमा दिपशिखा खड्का, मौसम खड्का तथा अली खान मुख्य भूमिकामा छन् । प्रेमलीलामा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा तथा भारतीय कलाकार अर्चना शुक्ला तथा ट्वींकल श्रीवास्तवले समेत अभिनय गरेका छन् । यो चलचित्रमा अभिनेत्री तथा निर्मात्री खड्काकै कथा, पटकथा तथा संवाद छ ।
चैत १५ गते
चैत १५ गते शुक्रबार साइँली तथा शुभ लभ गरी दुई चलचित्र प्रदर्शनमा आउनेछन् । जिएच इन्टरटेन्मेन्टले करिब २ करोड रुपैयाँको लागतमा निर्माण गरेको चलचित्र ‘साइँली’ बहुप्रतीक्षित चलचित्र हो । सुन साइँली...गीतको सफलतापछि सोही गीत तयार पार्ने समूहले निर्माण गरेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन्, जसमा दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, माओत्से गुरुङ, प्रकाश घिमिरे, केनिपा सिंह आदि कलाकारले अभिनय गरेका छन् । ग्रामीण जनजीवन झल्कने यो चलचित्रमा बेरोजगारीदेखि गरिबीसम्मका समस्यालाई आकर्षक शैलीमा चित्रण गरिएको छ । चैत १५ गते नै प्रदर्शित हुने युवा ज्योतिष हरिहर अधिकारीको चलचित्र हो— शुभ लभ, जसमा हरिहर पहिलो पटक अभिनेताका रूपमा प्रस्तुत हुँदैछन् । उनलाई कृष्टिन पौडेल तथा सूर्या थापालेसाथ दिएका छन् । प्रदीपकुमार उदयद्वारा निर्मित यो चलचित्रमा हरिहरले ज्योतिषीकै भूमिका निर्वाह गरेका छन् । चलचित्र शुभ लभमा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोखरेल आदि कलाकारले समेत अभिनय गरेका छन् । यो चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् ।
चैत २२ गते
चैत २२ गते चलचित्र लभ स्टेशन तथा प्रेमनाथ प्रदर्शन हुँदैछन् । प्रदीप खड्का तथा जसीता गुरुङको रोमान्टिक जोडी बाँधिएको चलचित्र लभ स्टेशनलाई पनि दर्शकहरूले प्रतीक्षा गरिरहेका छन् । यसअघि उनीहरूले अभिनय गरेको चलचित्र ‘लिलिबिली’ दर्शकहरूले मन पराएका थिए । उज्ज्वल घिमिरेद्वारा निर्देशित यो चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रको गीत, पोस्टर, टिजर तथा ट्रेलरलाई धेरैले मन पराएका छन् । चैत २२ गते नै प्रदर्शनमा आउने चलचित्र प्रेमनाथ गणेश बेल्बासेद्वारा निर्देशित चलचित्र हो । यो चलचित्रका निर्माता पनि बेल्बासे नै हुन्, जसमा अधिकांश कलाकार नयाँ छन् । प्रेमनाथमा राज थापा, कृति गौतम, मोनालिसा विष्ट जस्ता नयाँ कलाकारका साथमा सुरवीर पण्डित, गजित विष्ट, नविन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्बासे, मियुम जिरेल, शेखरजंग मल्ल आदि कलाकारले अभिनय गरेका छन् ।
चैत २९ गते
न्यू इयर इभ अर्थात् वर्ष २०७५ को अन्तिम दिन सार्वजनिक हुने दुई चलचित्र हुन् यात्रा : अ म्युजिकल भ्लग तथा ए मेरो हजुर–३ । यी दुवै हाई बजेटका चलचित्र हुन् । चलचित्र यात्रामा करिब ३ करोड रुपैयाँ लगानी भैसकेको प्रस्तुतकर्ता केशव भट्टराईले बताएका छन् । स्रमाट शाक्यद्वारा निर्देशित यात्रामा सलिनमान बनियाँ, मलिका महत, सलोन बस्नेत आदि कलाकारले अभिनय गरेका छन् । झरना थापाद्वारा निर्देशित चलचित्र ए मेरो हजुर–३ अभिनेता अनमोल केसीका कारण चर्चामा छ । यही चलचित्रमार्फत निर्देशक थापाकी छोरी सुहाना थापा रजतपटमा पदार्पण गर्दैछिन् । ए मेरो हजुर–३ मा पनि करिब २ करोड रुपैयाँ लगानी भएको बताइन्छ ।