साप्ताहिक संवाददाता
यो वर्षको होलीलाई लक्षित गर्दै गायक रमेश राज भट्टराईले दुई साताअघि नै नयाँ होली गीत ‘होली...’ को म्युजिक भिडियो सार्वजनिक गरे । छोटो समयमै झण्डै ५ लाख पटक हेरिएको उक्त गीतलाई होलीमय बनाइएको छ । गायक भट्टराईकै शब्द तथा संगीतको उक्त गीतको भिडियो समेत आकर्षक छ । दीपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री, एलिशा शर्माका साथमा विभिन्न नृत्य कलाकारले आकर्षक नृत्य गरेका छन् ।
होलीलाई लक्षित गरेर गायक भट्टराईले उक्त गीत तथा म्युजिक भिडियो सार्वजनिक गरे पनि ‘होलीले मेरो रंगायो नयाँ चोली...’ गीत सञ्चारमाध्यममा प्रसारण नहुञ्जेल होली नै नआएको मान्नेहरू प्रसस्त छन् । चलचित्र अधिकारको उक्त गीत नेपाली सञ्चारमाध्यममा सबैभन्दा बढी बज्ने नेपाली भाषाको होली गीत हो । उदित नारायण झा, दीपा झा, प्रकाश श्रेष्ठ, पूर्णिमा आदि गायक–गायिकाको स्वरको यो गीतलाई होलीको राष्ट्रिय गीतसमेत भनिन्छ । यो गीतमा राजेश हमाल तथा कृष्टी मैनालीले कलाकारहरूको समूहसँग आकर्षक नृत्य गरेका छन् ।
चलचित्र ‘तिलहरी’ मा समावेश होली गीत दर्शक तथा श्रोताहरूको रोजाइमा परेको थियो । ‘होरिया होरिया हो रंग खेले होली...’ बोलको उक्त गीतमा अभिनेता भुवन केसी तथा कृष्टी केसीले नृत्य गरेका छन् भने उदितनारायण झा तथा दीपा झाले त्यसमा स्वर दिएका छन् । होलीका लागि विभिन्न संगीतकर्मीले बेला–बेलामा होली विशेष गीत सार्वजनिक गरिरहन्छन् । गायक तथा संगीतकार टंक बुढाथोकीले अघिल्लो वर्षको होलीमा ‘होलीमा होलीमा...’ गीत सार्वजनिक गरेका थिए । म्युजिक भिडियोसहित सार्वजनिक भएको उक्त गीतमा गायक बुढाथोकीकै संगीत छ भने त्यसको शब्द उषा किरण अधिकारीले रचना गरेकी हुन् । चलचित्र बटरफ्लाइमा एउटा होली गीत समावेश छ ।
सौराहामा छायांकन गरिएको उक्त गीत दुई वर्षअघि होलीकै अवसरमा सार्वजनिक गरिएको थियो । रंगको अत्यधिक प्रयोग गरिएको ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’ गीतमा अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आर्यन अधिकारीले आकर्षक नृत्य गरेका छन् । प्रमोद ढुंगानाको शब्दको उक्त गीतमा विकास चौधरीको संगीत छ भने राजेशपायल राई तथा माण्डवी त्रिपाठीले त्यसमा स्वर दिएका छन् । चलचित्र संरक्षणमा समावेश होली गीतलाई पनि दर्शकले मन पराएका छन् ।
नेहा प्रियदर्शन तथा प्रवेश मल्लिकको स्वरको उक्त गीतमा धीरेन्द्र प्रेमर्षीको शब्द तथा प्रवेश मल्लिकको संगीत निर्देशन छ । उक्त गीतमा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी तथा मलिना जोशीले नृत्य गरेका छन् । अनमोल केसी तथा सृष्टि श्रेष्ठ अभिनित चलचित्र गाजलुमा पनि एउटा होली गीत छ । ‘रंग रंग...’ शीर्षकको ऊक्त गीतमा शिवानी मोत्तानको स्वर तथा जैन जेको शब्द एवं संगीत सुन्न सकिन्छ भने गायक सुमित खड्काको होली गीत ‘फेरि आयो होली सरर’ पनि उत्तिकै लोकप्रिय छ ।