साप्ताहिक संवाददाता
वर्ष २०१९ को पहिलो महिना बलिउडका चलचित्रले बक्स अफिसमा जुन प्रकारको तहल्का मच्चाएका थिए, त्यो क्रम अहिले पनि कम भएको छैन । दोस्रो महिना पनि बलिउडका चलचित्रले उत्कृष्ट नजिता देखाउने क्रम जारी नै रह्यो । पछिल्ला पाँच वर्षमा फेब्रुअरी महिना सबैभन्दा बढी आम्दानी गर्ने प्रसंगमा यो वर्ष दोस्रो स्थानमा छ ।
यो वर्षको जनवरी महिनामा बलिउडमा २१ वटा चलचित्र प्रदर्शन भएका थिए । ती चलचित्रले ४ सय ३० करोड रुपैयाँ आम्दानी गरे । ती चलचित्रमध्ये विक्की कौशलको चलचित्र ‘उरी सर्जिकल स्ट्राइक’ ले कीर्तिमान बनायो, जसले पूरै फेब्रुअरी महिनाभरि पनि राम्रो व्यवसाय गर्यो ।
यो वर्ष फेब्रुअरी महिना २८ दिनको थियो, जसमध्ये २२ फेब्रुअरीसम्म १८ वटा चलचित्र प्रदर्शन भए । ती सबै चलचित्रले कुल मिलाएर ३ सय ५० करोडको व्यवसाय गरे जसको औसत निकाल्ने हो भने प्रतिचलचित्र २० करोड रुपैयाँ हुन आउँछ । वर्षको पहिलो महिना पनि औसत कमाइ यति नै थियो । फेब्रुअरी महिनामा सबैभन्दा ठूलो चलचित्र बनेर आयो रणवीर सिंह र आलिया भट्टको ‘गली ब्वाइ’, जसले अहिलेसम्म २ सय करोड कलेक्सन गरिसकेको छ । चलचित्र टोटल धमालले १ सय २५ करोड रुपैयाँ आम्दानी गरिसकेको छ ।
यति हुँदा पनि २०१९ को फेब्रुअरी महिनाले अघिल्लो वर्षको यही महिनाको कीर्तिमान भंग गर्न सकेन । अघिल्लो वर्ष फेब्रुअरी महिनामा १२ वटा चलचित्र प्रदर्शन भएका थिए, जसको कुल आम्दानी ४ सय करोडभन्दा बढी थियो । त्यो महिना प्रत्येक चलचित्रले ३५ करोड रुपैयाँ कमाएका थिए । त्यसमा सबैभन्दा ठूलो योगदान कार्तिक आर्यन, नुसरत भरुचा तथा सनी सिंहको चलचित्र ‘सोनू के टीटू की स्वीटी’ को थियो, जसले १ सय ८० करोड आम्दानी गरेको थियो । अक्षय कुमारको प्याड म्यानले १ सय करोड बराबरको व्यवसाय गरेको थियो ।
वर्ष २०१७ को फेब्रुअरी महिनामा १५ वटा चलचित्र प्रदर्शन भएका थिए, जसको कुल आम्दानी २ सय २५ करोड थियो । त्यो वर्ष प्रतिचलचित्र १८ करोड बराबरको औसत व्यवसाय भएको थियो । अक्षय कुमारको जोली एलएलबी– २ ले १ सय ८५ करोड बराबरको व्यवसाय गरेको थियो भने बाँकी चलचित्रलाई ३२ करोड बराबरको व्यवसाय गर्न समेत गाह्रो भएको थियो ।
वर्ष २०१६ को फेब्रुअरी महिनामा १९ वटा चलचित्र प्रदर्शनमा आएका थिए, जसको कुल व्यवसाय २ सय ७५ करोड थियो । सोनम कपूरको नीरजाले सबैभन्दा बढी १ सय २५ करोड आम्दानी गरेको थियो । सनी देओलको घायल वन्स अगेनले ५० करोड रुपैयाँको व्यवसाय गरेको थियो ।
वर्ष २०१५ को फेब्रुअरी महिनामा ११ वटा चलचित्र प्रदर्शन भएका थिए, जसको कुल व्यवसाय सवा २ सय करोड थियो । उक्त महिना प्रति चलचित्र २५ करोडको व्यवसाय भएको थियो । वरुण धवनको बदलापुरले आकर्षक व्यवसाय गर्दै बक्स अफिसमा ८० करोडभन्दा बढी आम्दानी गरेको थियो । रणबीर कपुर, ज्याक्लिन फर्नान्डिज तथा अर्जुन रामपालको चलचित्र ‘रोय’ फ्लप हुँदासमेत ७५ करोडभन्दा बढी आम्दानी गर्न सफल भएको थियो ।