साप्ताहिक संवाददाता
केही वर्षअघिसम्म काठमाडौं उपत्यकाको होली सकसपूर्ण थियो । पानी पोखिएका चिसा सडक तथा सडकमा यत्रतत्र छरिएका प्लास्टिकका टुक्रा सर्वसाधारणको त्रासका कारण थिए । यतिमात्र होइन जथाभावी लोला हान्ने, छतबाट फोहोर पानी खन्याउने र जबरजस्ती अविर दलिदिनेजस्ता विकृतिका कारण होलीका दिन घरबाहिर निस्कनै गाह्रो पर्थ्यो ।
यद्यपि पछिल्ला केही वर्षयता होलीमा देखिएको ‘लोला विकृति’ हट्दै गएको छ । छतबाट लोला हान्ने, जबरजस्ती रंग दल्ने, पानी खन्याउने क्रम कम हुँदै गएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख वसन्त लामा होलीमा लोला हान्ने, घरको छतबाट पानी फाल्ने, जिस्कने, जबरजस्ती रंग लगाइदिनेजस्ता विकृति देखिए पनि अहिले प्रहरी सुरक्षा कारण त्यसमा कमी आउँदै गएको बताउँछन् ।
‘लोला हान्ने, फोहोर पानी फाल्ने, जबरजस्ती रंग लगाउने, रंग लगाउने बहानामा महिलाको संवेदनशील अंग छुनेजस्ता विकृतिहरू देखिन्छन्,’ लामा भन्छन्, ‘अहिले भाङ र मदिरा सेवन गर्ने, झैझगडा गर्ने र मातेर सवारी चलाउँदा हुने दुर्घटना बढेको छ ।’ यो वर्षको होलीलाई लक्षित गरेर प्रहरीले विकृति रोक्ने विशेष योजना समेत तयार गरिरहेको छ ।
त्यसो त मानिसहरू अहिले आफैं सचेत भएर साथीभाइसँग मात्र रंग खेल्ने, चिनेजानेसँग मात्र पानी छ्यापाछ्याप गरेर रमाइलो गर्न थालेका छन् । अहिले सडकमा निस्केर एकअर्कालाई ‘ह्याप्पी होली’ भन्दै रंग लगाइदिने चलन छ । होलीको विकृति घट्दै जानुका पछाडि मानिसमा बढेको जनचेतना पनि अर्को कारण हो ।
यद्यपि अझै पनि होलीमा महिलाका संवेदनशील अंग स्पर्श गर्ने, नशालु पदार्थ सेवन गरेर मात्तिने, झैझगडा गर्ने, ओभरस्पिडमा मोटरसाइकल कुदाउने, छतबाट खसेर दुर्घटना निम्तिने जस्ता समस्या पूर्ण रूपमा रोकिसकेका छैनन् ।