साप्ताहिक संवाददाता
होली रङहरूको पर्व हो । खेल्दा शरीरमा केही असर पर्न सक्छ तर अब स्मार्टफोनको सहयोगले शरीरमा रङ नलगाइ पनि होली खेल्न सकिन्छ । आफ्ना साथीभाइ वा आफन्तलाई शुभकामना वा एसएमएस पठाएर तथा उनीहरूलाई रङसँग खेलेको अनुभूति दिलाएर त्यस्तो कार्य सम्पन्न गर्न सकिन्छ भने कतिपय एप्स अफलाइनमै पनि प्रयोग गर्न मिल्छ । एन्ड्रोइड, आइओएस तथा विन्डोज मोबाइलहरूमा यस्ता एप्स उपलब्ध छन् ।
होलीसम्बन्धी जानकारी
होलीसम्बन्धी जानकारी दिने विभिन्न एप्स उपलब्ध छन् । होली फेस्टमा होलीसँग सम्बन्धित विभिन्न क्रियाकलाप गर्न सकिन्छ । यो एप्स भगवानप्रति विश्वास राख्नेहरूका लागि निर्माण गरिएको हो । यसमार्फत होलीको सांस्कृतिक पक्षका बारेमा विभिन्न जानकारी लिन सकिन्छ । होली नामक एप्समार्फत होलीसँग सम्बन्धित सबै जानकारी लिन सकिन्छ । होलीको उत्पत्ति तथा अन्य विभिन्न पक्षका बारेमा जानकारी लिन यो एप प्रयोग गर्न सकिन्छ ।
होलीलाई संगीतमय बनाउन
होलीसँग सम्बन्धित गीत प्रशस्तै तयार पारिएका छन् । ती सबै गीत सुन्न पनि प्रशस्तै एप्स उपलब्ध छन् । गाना एप्स एन्ड्रोइड, विन्डोज एवं ब्ल्याकबेरी सबै मोबाइलमा फेलापार्न सकिन्छ । यसमा होलीसँग सम्बन्धित विभिन्न प्रकारका गीत उपलब्ध छन् । त्यसैगरी होली सङ्समा होलीसँग सम्बन्धित हिन्दी गीतहरू उपलब्ध छन् । यसलाई अफलाइन पनि चलाउन सकिन्छ अर्थात् यसका लागि इन्टरनेट सुविधा आवश्यक छैन ।
होलीमा मिठो खान
मानिसहरू होलीमा रङ खेल्न मात्र होइन, मिठो खान समेत रुचाउँछन् । यही कुरालाई मनन गरी विभिन्न एप्स निर्माण गरिएका छन् । इन्डियन फुड्स नामक एप्सको सहयोगले त्यस्ता खाना तयार गर्न सकिन्छ । त्यसैले होलीमा उक्त एप्स प्रयोग गर्न सकिन्छ । यसमा भारतका प्रसिद्ध सेफ विकास खन्ना, हरि नायक आदिले विभिन्न परिकार तयार पारेको भिडियो हेर्न सकिन्छ भने आफूले पनि त्यसकै अनुसरण गर्दै घरमै विभिन्न परिकार तयार गर्न सकिन्छ ।
होली एसएमएस
होलीमा आफूलाई मन पर्ने मानिसलाई विभिन्न प्रकारका एसएमएस पठाउन सकिन्छ । होली एसएमएस एप प्रयोग गरेर अंग्रेजी तथा हिन्दी भाषामा विभिन्न प्रकारका ठट्यौला एसएमएस पठाउन सकिन्छ । यसबाट होलीको मुडलाई थप रोमान्चक बनाउन मद्दत मिल्छ ।
अन्य एप्सको प्रयोग
हिजोआज फेसबुक मात्र होइन, ह्वाट्सएप तथा इन्स्टाग्राममा समेत तस्बिर राख्ने चलने छ । आफ्नो तस्बिरलाई आकर्षक रूपमा सजाएर राख्ने चलन पनि उत्तिकै छ । होलीको अवसरमा विभिन्न म्यासेज एवं तस्बिर सजाएर राख्ने चलन छ । गुगल प्ले स्टोरमा विभिन्न प्रकारका एप्स उपलब्ध छन्, जसको सहयोगले तस्बिरमा होलीका विभिन्न रङ सजाउन सकिन्छ ।
होली फोटो इफेक्ट एपको सहयोगले कुनै पनि तस्बिरमा होलीको रङ भर्न सकिन्छ । उक्त एपमा विभिन्न प्रकारका इफेक्ट उपलब्ध छन् । आफ्नो तस्बिर ग्यालरीबाट आफूलाई मन पर्ने तस्बिर छनोट गरी त्यसलाई रुचिकर फ्रेममा राख्न सकिन्छ । त्यसपछि उक्त तस्बिरमा होलीको रङ भरिएर आउँछ । आफ्नो तस्बिरलाई अझ आकर्षक बनाउन त्यसमा विभिन्न टेक्स्ट लेख्न सकिन्छ ।
एप्पी होली–कलर योर पिक्स त्यस्तै खालको अर्को एप्स हो । यसको सहयोगले आफ्नो तस्बिरमा रङ भर्न सकिन्छ ।
होली भिडियो मेकर–२०१९ एप प्रयोग गरी तस्बिरहरूको कोलाज बनाएर भिडियो तयार गर्न सकिन्छ । यसमा होलीका लागि फरक–फरक स्टिकर उपलब्ध छन् । यसमा होलीको वालपेपर पनि हुन्छ । यो भिडियोमार्फत सन्देश दिने उत्तम विकल्प हो । होलीसँग सम्बन्धित खेल होली गेम्स एपमा खेल्न सकिन्छ । बालबालिकाहरू यसमा निकै रमाउँछन् ।
होलीका तस्बिर सजाएर राख्न समेत विभिन्न एप्स उपलब्ध छन् । माइ होली फोटो एप्स प्रयोग गरेर जो–कसैको तस्बिरमा रङ भर्न सकिन्छ । यसका कारण वातावरण समेत शुद्ध राख्न सहयोग मिल्छ, किनभने कसैलाई रङ वा अबिर लगाउन उसैकहाँ पुग्नुपर्ने बाध्यता हुँदैन । आफूभन्दा टाढा रहेका साथीभाइको तस्बिरमा रङ वा अबिर लगाइदिएर होली मनाएको अनुभूति गर्न सकिन्छ । यसमा तस्बिरलाई सम्पादन समेत गर्न सकिने सुविधा छ ।
त्यसैगरी होलीको माहोललाई क्यामेरामा कैद गरेर राख्न र आवश्यक परे प्रिन्ट गर्न क्यामेरा एमएक्स एप्स प्रयोग गर्न सकिन्छ । क्यामेरा एमएक्समा रियल टाइम फिल्टर उपलब्ध छ । आफूले कैद गरेका तस्बिरलाई प्रिन्ट गरेर निकाल्न पनि यसको प्रयोग गर्न सकिन्छ । यसमा लोमो, सेपिया, पप आर्ट, नेगेटिभ आदि विभिन्न प्रकारका इफेक्ट प्रयोग गर्न सकिन्छ ।
फेसबुकमा कभर फोटो राख्न वा अलि ठूलो तस्बिर पठाउन होली वालपेपर एप्स प्रयोग गर्न सकिन्छ । यसमार्फत आफूलाई राम्रो लागेको वालपेपर डाउनलोडसमेत गर्न मिल्छ । त्यसैगरी ह्याप्पी होली वालपेपरबाट पनि विभिन्न प्रकारका वालपेपर डाउनलोड गर्न सकिन्छ ।
होली स्पेसल फोटो एनिमेटेड एप्सको सहयोगले होलीको रङसँगै आफूलाई समाहित गर्न सकिन्छ । यसको सहयोगले वर्षा, प्राकृतिक स्नो फल, उडिरहेको पन्छी आदिमा आफैंले रङ भर्न सकिन्छ । यसका कारण आफूलाई पनि रङसँग खेलेको अनुभव हुन्छ ।
हिजोआज जीआईएफ तस्बिरको प्रचलन बढेको छ । यही कुरालाई मनन गरी होली जीआईएफ एप्स निर्माण गरिएको छ । आफ्ना साथीभाईलाई फरक तरिकाले होलीको शुभकामना प्रदान गर्न यसको प्रयोग गर्न सकिन्छ ।