साप्ताहिक संवाददाता
होली खेल्दा स्मार्टफोन र अन्य ग्याजेटको सुरक्षा
होली खेल्दा आफ्नो स्मार्टफोनलाई खल्तीमा राख्नु उपयुक्त होइन । नजिकै कुनै स्थानमा राख्दा पनि विशेष सावधानी अपनाउन सकिन्छ । यसका लागि बजारमा प्रचलित विभिन्न सुरक्षित सामग्री प्रयोग गर्न सकिन्छ ।
वाटरप्रुफ पाउच/जिप लक
सामान्य मूल्यमा उपलब्ध हुने वाटरप्रुफ पाउच वा जिप लकले महंगो स्मार्टफोन जोगाउन सहयोग गर्छ । यसले होली खेल्दा पानीमा भिज्न वा रङ लाग्नबाट बचाउँछ । बजारमा यस्ता धेरै खालका सामग्री उपलब्ध छन् । एप्पल जस्तो ब्रान्डले त कस्टमाइज्ड वाटरप्रुफ कभर पनि बजारमा उपलब्ध गराइरहेको छ । आफ्नो स्मार्टफोन सुरक्षित राख्न जिपलक भएको सानो क्यारी ब्याग प्रयोग गर्न सकिन्छ । यसले स्मार्टफोनलाई पानीमा भिज्नबाट जोगाउँछ । क्यारिब्याग नचलाउने हो भने धेरै हार्ड वा धेरै सफ्ट ब्याग प्रयोग गर्नु हुँदैन ।
हेयर ड्रायरको प्रयोग नगरौं
पानीमा भिजेको मोबाइल फोन सुकाउन हेयर ड्रायर वा आगो समेत प्रयोग गरिएको पाइन्छ । यद्यपि यस्तो गल्ती कहिल्यै गर्नुहुँदैन । फोनमा स–साना मसिना पार्टपुर्जा हुन्छन् । पार्टपुर्जालाई ड्रायरको तातोले असर पुर्याउँछ । पानीको तुलनामा तातोले असर पुर्याउने हुनाले त्यस्तो कार्य कहिल्यै गर्नुहुँदैन ।
घाममा राखौ, तर ....
होली खेल्दा यदि स्मार्टफोनमा पानी पस्यो भने त्यसलाई घाममा सुकाउन सकिन्छ । यद्यपि त्यसरी सुकाउँदा ब्याट्री निकाल्न बिर्सनु हुँदैन । केही समयसम्म फोनलाई घाममा छोड्न सकिन्छ तर लामो समयसम्म घमममै रहन दिनुहुँदैन । केही समय घाममा राखे फोन पहिलेकै अवस्थामा आउन सक्छ ।
पाउडरमा नहालौं
कसै–कसैले भिजेको स्मार्टफोनलाई पाउडरमा राखेको पनि पाइन्छ, यस्तो कार्य गर्नुहुँदैन । बरु स्मार्टफोनमा भएको ब्याट्री, माइक्रो एसडी कार्ड तथा ब्याट्री निकालेर चामलमा राख्न सकिन्छ ।
चार्जरको सम्पर्कमा नराखौं
धेरै व्यक्तिहरू भिजेको स्मार्टफोनलाई चार्ज गर्दा भित्रको भाग सुक्छ भन्ने मान्यता राख्छन् । यसले गर्दा उनीहरू भिजेको फोन चार्ज गर्न पुग्छन् । भित्रको पानी नसुक्दासम्म फोन चार्ज गर्नु हुँदैन । यसलाई विद्युतको सम्पर्कमा पर्न दिनुहुँदैन । सुके पछि मात्र चार्ज गर्नु पर्छ ।