साप्ताहिक संवाददाता
सुन्तलादेखि वाइनसम्ममा
रंगको पर्व होली नेपाल तथा भारतका अतिरिक्त बंगलादेश, पाकिस्तान आदि देशमा समेत मनाइन्छ । यद्यपि संसारका केही देशमा होलीकै झझल्को दिने केही अनौठा पर्व मनाइन्छ । अलग—अलग तरिका र रीतिरिवाजअनुसार रमाइलोसँग मनाइने यस्ता पर्वमा रंगको ठाउँमा कहीँ टमाटर त कहीँ हिलो छ्याप्ने चलन छ ।
बोरियोङ मड फेस्टिबल
दक्षिण कोरियामा होलीजस्तै ‘बोरियोङ मड फेस्टिबल’को आयोजना गरिन्छ । हरेक वर्ष जुलाई महिनामा मनाइने यो पर्वमा रमाइलो गर्न मानिसहरू एकअर्कामा हिलो दल्छन् र हिलो छ्यापा–छ्याफ गर्छन् ।
संक्रन
नयाँ वर्षको अवसरमा थाइल्याण्डमा सत्रन पर्व धुमधामसँग मनाइन्छ । होलीजस्तै यसमा पनि पिचकारीले एकअर्कालाई रंगीविरंगी पानी फ्याँकिन्छ । चिसो पानी फ्याकेर मानिसहरू अप्रिल महिनामा आफ्नो नयाँ वर्षको स्वागत गर्छन् ।
ब्याटल अफ ओरेन्ज फेस्टिबल
होलीकैं झझल्को दिनेगरी इटलीमा ब्याटल अफ द ओरेन्ज फेष्ट मनाइन्छ तर यो पर्वमा होलीजस्तो रंग होइन्, एकअर्कामाथि सुन्तला फालिन्छ । फेब्रुअरी महिनामा मनाइने यो पर्व मार्चमा पनि पर्न सक्छ । ब्याटल अफ ओरेन्ज फेस्टिबलमा मानिसहरू एकअर्कामाथि सुन्तला फ्याकेर रमाइलो गर्छन् ।
ला टोमाटिना
यो स्पेनमा मनाइने पर्व हो । स्पेनमा अगष्ट महिनामा यो पर्व जोडतोडका साथ मनाइन्छ जसमा भाग लिन देश–विदेशका मानिस स्पेन पुग्छन् । मानिसहरू एकअर्कामा टमाटर फ्याकेर यो पर्व मनाउँछन् ।
हारो वाइन फेस्टिबल
स्पेनमा मनाइने हारो वाइन फेस्टिबल पनि होलीकै झझल्को दिने पर्व हो । यो फेस्टिबलका दौरान सयौं मानिसले बाल्टी को वाइन हुलमाथि फ्याँक्छन् । हारो वाइन फेस्टिबलको दिन युवादेखि वृद्धसम्म बिहान ९ बजेदेखि नै जग, बोतल, बाल्टी आदि भाडामा रेड वाइन भर्छन् र भीडभाड भएको ठाउँतिर निस्कन्छन् । यो पर्व यसपटक १९ र २० जुनमा मनाइँदैछ ।