साप्ताहिक संवाददाता
अर्जुन घिमिरे ‘पाँडे’
तपाईंको बारीमा छिमेकीको कुखुरा आएर अण्डा पार्यो भने त्यो अण्डा कसको हुन्छ ?
मेरो बारीमा मात्र होइन अरूको बारीमा पनि छिमेकीको कुखुरीले अन्डा पार्छे भने त्यो अन्डा त्यही कुखुरीकै हुन्छ ।
सरकारले नाङ्गै हिँड्नुपर्ने नियम ल्यायो भने ?
नाङ्गो हिँड्नुपर्ने नियम आउँदै–आउँदैन, आयो भने नियम बनाउनेहरू पहिले हिँडुन अनि म पनि हिंडौला । सबै नाङ्गो भएपछि न लाज–न घिन, सुरु–सुरुमा चाहिँ बबालै रमाइलो हुन्थ्यो होला ।
तपाईंको आँखाको नानी ह्वातै बढ्यो भने के गर्नुहुन्छ ?
उपचार गराउँछु, चस्मा लगाउँछु ।
सन्नी लियोनले प्रेम प्रस्ताव राखिन् भने ?
प्रस्ताव आउँदैमा मुन्टो टेकेर दौडिनेमा आफू परिएन । कागलाई बेल पाकेर हर्ष न बिस्मात ।
पाँडेले विवाह गरे, भतिज कहाँ सुत्छ ?
भतिज एक घन्टाका लागि खाटमुनी सुत्छ ।
भद्रगोलमा भद्र भलादमीको भूमिका निर्वाह गर्नु परे पाँडे को हालत के होला ?
भद्र भलादमीको भूमिका गर्नु परे, पाँडे सकिन्छ तर मरे पनि त्यो रोल स्विकार गर्दैन । बरु पाँडे मर्छ,भलादमी बन्दैन ।
पाँडेले रक्षालाई भगाउनुपर्ने बाध्यता आयो, त्यो बेला जिग्रीको धुलाइको कल्पना गरेको छ ?
पाँडे हजुरबाले नातिनी जस्ती उमेरकी रक्षालाई भगाउँदा जिग्री खासै रिसाउँदैन । धुलाईनै गर्न आयो भने पाँडेका अगाडि जिग्री लुत्रुक्क परिहाल्छ नि ।
बहिर राम्रो देखिने भान्टा भित्र कसरी कीरा पस्छ ?
कहाँ छ त्यो भान्टा ? मलाई त्यो भान्टा चिरेर हेर्नमन लाग्यो ? कुन प्रजातिको किरो रै’ छ ।
पाँडे र अर्जुन घिमिरेमा के फरक छ ?
नेता र जनताको जस्तो फरक छ । पाँडे नेता हो भने अर्जुन घिमिरे जनता हो ।
पाँडेको दारी–जुँगा उखेल्दा के हुन्छ ?
उखेल्दा चाहिँ दुख्छ, उखेली सकेपछि ताछेको आलु जस्तो देखिन्छ ।