साप्ताहिक संवाददाता
नेपाली राष्ट्रिय फुटबल टिमसँग जोडिएका विदेशी प्रशिक्षकको सूची लामै छ । नेपालले सन् १९८२ देखि औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो— त्यसयता धेरै विदेशी प्रशिक्षक आए र गए । यही सूचीमा थपिएका छन्— योहान कालिन । उनी स्वीडेनका हुन् र उनले पहिलो पटक कुनै पनि देशको राष्ट्रिय टिमको जिम्मेवारी लिन लागेका हुन् । यस अर्थमा नेपालले कम अनुभवी प्रशिक्षकलाई लिएर एक प्रकारले जोखिम उठाएको छ ।
योहानको नेतृत्वमा नेपालले चाँडै मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्नेछ । रमाइलो कुरा के भने योहानसँग नेपाल बाहिर गैरव्यवसायिक टिम मात्र सम्हालेको अनुभव छ । नेपालमै भने उनले क्लब फुटबल सम्हालेका छन् । पाँच वर्षअघि सहिद स्मारक लिग ए डिभिजनमा मछिन्द्रले तहल्का मच्चाएको थियो । त्यति बेला उनी नै क्लबका प्रशिक्षक थिए । अहिले योहानले नेपालमा क्लबबाट राष्ट्रिय टिममा छलाङ मारेका छन् ।