साप्ताहिक संवाददाता
रंगहरूको पर्व होली पोखरामा भव्य रुपमा मनाइन्छ । पोखरामा यसपटकको होली पनि भव्य बनाउने तयारी भैरहेको छ । पोखराको लेकसाइडमा होली व्यवस्थित तरिकाले मनाइन्छ । त्यसैले पनि विदेशी पर्यटकका अतिरिक्त पोखरा घुम्न आएका आन्तरिक पर्यटकले समेत निर्धक्क होली खेल्न पाउँछन् । पोखरा घुम्न आएका पर्यटक रंगिदै सडकमा देखिएपछि लेकसाइडको वातावरण नै बेग्लै हुन्छ । पर्यटन व्यवसायीहरूले होली पर्वका बारेमा उनीहरूलाई अवगत गराउँदै रंग खेल्न उत्प्रेरित गर्छन् ।
होलीलाई लक्षित गरेर कतै बाजागाजामा रम्ने व्यवस्था, कतै डिजे सेसनमा झुम्ने अवसर अनि कतै कर्न्सटमा उफ्रन पाइने व्यवस्था मिलाइएको हुन्छ । यस्ता कार्यक्रमले पोखरा घुम्न आएका विदेशी पर्यटकलाई मात्र नभएर आन्तरिक पर्यटकहरूलाई समेत आर्कषित गर्छ ।
बिहान १० बजेदेखि रंग पोतिएकाहरूको जमात लेकसाइडमा बढ्दै जान्छ । यो क्रम दिनभरीनै जारी रहन्छ । मध्यान्नमा लेकसाइडमा थामिनसक्नु भीड हुन्छ । यहाँ पर्यटन व्यवसायसँग सम्बद्ध विभिन्न संस्थाले होली विशेष कार्यक्रम आयोजित गर्छन् । रंगले पोतिएका पर्यटक बाजागाजामा नाच्दै सहर फरिक्रमा गर्दाको दृश्य निकै रोचक हुन्छ ।
होलीको अवसरमा आयोजना हुने कार्यत्रमले गर्दा होली मनाउन पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बर्षेनी बढ्दै गएको पर्यटन व्यवसायीहरू बताउँछन् । लेकसाइडस्थित विभिन्न होटल तथा रेस्टुराँले आयोजना गर्ने कार्यक्रम राति अबेरसम्मै चल्छन् ।
पर्यटकहरूलाई पनि लाग्छ होली
होलीमा नेपालीहरूले मात्र होइन नेपाल घुम्न आउने विदेशीहरूले पनि रमाइलो गर्छन् । होलीमा विदेशी पर्यटकहरू एक अर्कामा अबिर दल्ने, अनुहारमा अनेक रंग सहितको फेस पेन्ट बनाउने, पानी छ्याप्ने तथा शुभकामना आदान–प्रदान गर्ने आदि काम गर्छन् । उनीहरू नेपाली परिकारको स्वाद लिँदै, नयाँ–नयाँ मानिससँग होलीको रमझममा रमाइरहेका पाइन्छन् । भुइँचालोपछि सन् २०१६ मा बेलायतका राजकुमार ह्यारी एक पटक लमजुङ पुगेका थिए । त्यतिबेला उनले लमजुङस्थित गौन्डा सेकेन्डरी स्कुल, ओखारीका शिक्षक, विद्यार्थी एवं अभिभावकहरूसँग होली मनाएको तस्बिर निकै चर्चित भएको थियो । सुरुमा ह्यारीले स्कुलका विद्यार्थीहरूसँग भलिबल खेलेका थिए । त्यसपछि स्थानीय युवतीहरूले ह्यारीलाई रंग दलिदिएका थिए । त्यसपछि अभिभावकहरूले पनि ह्यारीलाई अबिर लगाइ दिए । यसले पनि अन्तर्राष्ट्रिय जगतमा होलीको प्रचार–प्रसारमा थोरबहुत सहयोग पुर्यायो ।
काठमाडौंमा पर्यटकहरूको भीड लाग्ने स्थान ठमेल, बसन्तपुर, झम्सिखेल, पाटन आदिमा होलीको छुट्टै रौनक देखिन्छ । त्यसबाहेक पोखरा, चितवन तथा तराईका अन्य क्षेत्रमा पनि पर्यटकहरूले होली मनाउँछन् । त्यस्तै नेपालस्थित विदेशी दूतावासहरू, कूटनीतिक नियोगहरूमा पनि विभिन्न कार्यक्रमका साथ होली मनाउने चलन छ । विभिन्न ट्राभल एजेन्सीमार्फत नेपाल घुम्न आउने पर्यटकहरू पनि होलीमा रमाउँछन् । ट्राभल एजेन्सीहरूले आफ्नै पहलमा होली विशेष कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन् ।