भोली पर्वले गोली र बन्दुकको साम्राज्यलाई कमजोर बनाउनेछ । बम र बारुद बोकेका जहाज उड्न सक्ने छैनन् । मोर्टार र लञ्चर लिएका ट्यांक गुड्न सक्ने छैनन् । न अमेरिका बसेर अफगानिस्तानमा बम हान्न मिल्छ, न त आकाशबाट गोला इराकमा खसाल्न मिल्छ । भोली पर्वपछि धर्तीले बोकिरहेको युद्धको आधा बोझ आफैं कम हुनेछ ।
होली पर्वजस्तै भोली पर्वका बारेमा तपाईंलाई थाहा छ ? आउनुहोस्, धर्तीमा आउन लागेको भोली पर्वको बारेमा कुरा गरौं ।
होली पर्व वर्षैपिच्छे आउँछ तर भोली पर्व एकजुगमा एकदिनमात्र आउन सक्छ । यो पर्वमा सुखको रंग दलिन्छ । शान्तिको भांग खाइन्छ । सदाचारको नाचगान हुन्छ । स्थिरताको उत्सव मनाइन्छ ।
भोलि पर्व कसरी आउँछ, त्यो कसैलाई थाहा हुँदैन । यो भूकम्पजस्तै अचानक आउन सक्छ । सुनामीजस्तो थाहै नदिन आउन सक्छ । बिध्वंस, वा प्रलयजस्तो पनि हुनसक्छ ।
भोलि पर्व आउन सक्ने एउटा सम्भावना यस्तो छ : एउटा ग्रहबाट एउटा उल्का पिण्ड पृथ्वीतिर आइरहेको हुन्छ । भाग्यवश त्यो पृथ्वीसम्म आइनपुग्दै, आकाशमै ध्वस्त हुन्छ ।
तर, आकाशमै ध्वस्त हुने क्रममा त्यसले अन्तरिक्षमा ठूलो बिध्वंस मच्चाउँछ जसको कारण पृथ्वीवासीले ठूलो राहत पाउँछन् । हो, राहत पाउँछन् ! त्यो उल्का पिण्डले अन्तरिक्षमा रहेका सबै सेटलाइटहरू ध्वस्त बनाउनेछ ।
आधुनिक समाजको प्रमुख माध्यम सेटलाइट ! यो माध्यमनै सिद्धिएपछि सूचना, सञ्चार, यातायात, बैंकिङ, मनोरञ्जन सबै क्षेत्र ठप्प हुनेछन् । केही समय यसले मानिसमा हाहाकार मच्चिनेछ । विस्तारै यो मच्चाइ आफैं थच्चिनेछ । त्यसपछि प्रविधिप्रेमी भनिएका मानिसहरूमा कस्तो सकारात्मक प्रभाव पर्छ ? आउनोस्, यसको होली विश्लेषण गरौं । पैदल र बलयगाडा युगको सुरुवात हुनेछ । त्यसपछि हवाई दुर्घटनाबाट मान्छे मर्नुपर्ने छैन । पैदल हिँड्न कर तिर्नु पर्दैन । बयलगाडा किन्न कमिसन दिनु पर्दैन चाहिँदैन । भोली पर्वपछि भ्रष्टाचार रोकिनेछ ।
मोबाइलले काम गर्ने छैन । टेलिफोन चल्न छाड्छन् । टेलिफोनमा झुन्डी रहनेहरू आफन्तसँग बोल्न थाल्नेछन् । मोबाइलमा भाँडिएकाहरू परिवारमा जोडिनेछन् । प्रविधिले टुटाएका सम्बन्धहरू बलिया बन्ने छन्, सुमधुर हुनेछन् ।
भोली पर्वले गोली र बन्दुकको साम्राज्यलाई कमजोर बनाउनेछ । बम र बारुद बोकेका जहाज उड्न सक्ने छैनन् । मोर्टार र लञ्चर लिएका ट्यांक गुड्न सक्ने छैनन् । न अमेरिका बसेर अफगानिस्तानमा बम हान्न मिल्छ, न त आकाशबाट गोला इराकमा खसाल्न मिल्छ । भोली पर्वपछि धर्तीले बोकिरहेको युद्धको आधा बोझ आफैं कम हुनेछ ।
सबैभन्दा ठूलो प्रभाव प्रविधि, सूचना र मनोरञ्जनको क्षेत्रमा पर्नेछ । टिभी चल्न छाड्ने छन्, सासु बुहारीको सम्बन्ध सुध्रिनेछ । कार्टुन चलचित्र रोकिनेछन्, केटाकेटीहरूमा पढाइको लहर चल्नेछ । युट्युब बन्द हुनेछ, भाइरल युगको समाप्ति हुनेछ, स्ट्रगल युगको समय फेरि सुरु हुनेछ ।
सामाजिक सञ्जाल स्वाहा हुनेछ, मानवीय सञ्जाल आहा बन्नेछ । सामाजिक सञ्जाल बिनाको जीवन एकछिन उदास लाग्नसक्छ तर, बिस्तारै त्यही जीवन बिन्दास लाग्न थाल्नेछ ।
गालीको वर्षा रोकिनेछ । बदमासीको भेल थामिनेछ । मुख सम्हालिनेछ । मन शान्त बन्नेछ । लाइकको लोभ हट्नेछ । डिस्लाइकको पीडा घट्नेछ । त्यो बेला मानिससँग सबथोक हुनेछ, बस्, फेसबुकमात्र हुने छैन । हाम्लाई बाल !
मोबाइलको काम सकिनेछ । सम्पर्क घट्नेछ । सम्बन्ध बढ्नेछ । ज्ञात रहोस्, मोबाइलले बढाउने भनेको सम्पर्कमात्र हो, सम्बन्ध होइन । जतिसुकै महँगो र बलियो मोबाइल बोक्नुहोस्, त्यसले बढाउने भनेको सम्पर्कमात्र हो । सम्बन्ध बढाउन मोबाइल बलियो होइन, मनोवल राम्रो र बलियो हुनुपर्छ ।
फ्यास्स हुनेछ, एकछिन् ? च्वास्स हुनेछ । मानिस डिप्रेसनमा जानसक्छ, सन्तुलन गुमाउन सक्छ । स्वमृत्युवरण गर्न खोज्नेछ तर, विस्तारै सबै ठीक हुनेछ । फेसबुक बिनापनि चलेको थियो, चलिरहेछ र चल्नेछ ।
के हामी चाहन्छौं यस्तो भोली पर्व ? चाहन्छौं भने स्वागत गर्न तयार होऔं । चाहँदैनौं भने सूचना, प्रविधि र सञ्जालको सम्यक प्रयोग गरौं । फागु पूर्णिमाको शुभकामना ।