साप्ताहिक संवाददाता
शिवशंकर रिजाल
जोगिन्दर पानवाला
२० ४९ सालमा होली मनाउने क्रममा कक्षा ९ मा अध्यनरत थिएँ । मधेशको होलीमा त्यसै पनि जाँड–रक्सी भन्दा पनि घोट्टा पिउने चलन हुन्छ । त्यस्तो चलन आजसम्मको मितिसम्म पनि जारी नै छ । घोट्टा बनाउन धेरै नै मेहनत गर्नुपर्छ । खाँटी शुद्ध दूधबाट बनाइने घोट्टामा धतुरो हालिन्थ्यो । म किशोरावस्थामै थिएँ । आफूभन्दा ठूलाहरूले मुख मिठ्याइ–मिठ्याइ घोट्टा खाएको देखेर म पनि मनमनै लोभिइसकेको थिएँ ।
त्यसमाथि साथीभाइको करकापमा परेपछि मेलै पनि एक गिलास घोट्टा तनतनी पिएँ । पहिलो पटक जिब्रोले घोट्टाको स्वाद चाखेकाले होला, एक गिलासले धित मरेन । मलाई त त्यो घोट्टा सरबतजस्तो लाग्यो, असाध्यै मिठो । त्यसैले अर्को एक गिलास थपें । त्यसले पनि नपुगेजस्तो भएर अर्को एक गिलास पनि थपें ।
असाध्यै स्वादिलो लागेर एकपछि अर्को गर्दै तीन गिलास खाएको एकै छिन पछि त त्यसले आफ्नो असर देखाउन थालिहाल्यो नि । मैले त्यतिबेला तीन लोक र चौध भुवन एकै ठाउँमा देखें । त्यसपछि मैले देखाएका हरकत पछि साथीहरूको मुखबाट सुनेपछि पो लाजले भुतुक्क भएँ । घोट्टा लागेपछि त म कराउन थालेछु, बरबराउन थालेछु, घरी रुने अनि घरी हाँस्ने गर्न थालेछु । त्यति गर्दा पनि म आफूलाई चाहिँ केही पनि थाहा थिएन ।
१३–१४ वर्षको छोरा पागलजस्तै बहुलाउन थालेपछि मेरा आमा–बुवा पनि आत्तिनु भएछ । डरले धामी–झाँक्री बोलाउने निर्णय गर्नु भएछ । छिमेकीहरूले ‘तिम्रो छोराले घोट्टा खाएको छ’ भनेपछि आमाले अमिलो कागती र दही ख्वाउनु भएछ । त्यसले पनि काम गरेनछ । म त्यो होलीको दिनदेखि करिब तीन दिनसम्म अचेत भएर सुतेको सुत्यै भएँ । बुवाले त आफ्नो सानो छोरालाई घोट्टा ख्वाएको आरोपमा घोट्टा बनाउने विरुद्ध प्रहरीमा उजुरी नै दिनुभएछ ।
तीन दिनपछि म होसमा आएपछि मात्र त्यो उजुरी फिर्ता लिनु भएछ अनि गाउँलेहरूसँग माफीसमेत माग्नु भएछ । सबैभन्दा रोचक कुरा के भने मेरा आमा–बुवाले घोट्टा बनाउनेविरुद्ध प्रहरीमा उजुरी गरेपछि मेरा केही साथी भागेर १–२ वर्ष गाउँ नै फर्किएनन् । केही वर्षपछि मात्र उनीहरू गाउँ फर्किएर मलाई भेट्न आएका थिए । त्यो होली र घोट्टा म जीवनभरी बिर्सन सक्दिन ।
मलाई तीन दिनसम्म बेहोस बनाउने र मलाई घोट्टा खुवाउनेहरूको केही वर्षसम्म होस उडाउने त्यो होली र घोट्टा म कसरी बिर्सन सक्छु ? त्यो होलीपछि मैले आजका दिनसम्म घोट्टा खाएको छैन र भविष्यमा पनि खाने छैन साथै अरु कसैलाई पनि त्यस्तो नहोस् भन्ने कामना गर्छु–जय होली । विजयको प्रतीक होली खुसीसाथ शुभकामना आदान–प्रदान गरेर मनाऊँ, तर सोमरस र घोट्टा खाएर बबाल नमच्चाऊँ–जय भगवान् नरसिंह ।