अहिले प्रविधिको विकाससँगै केमिकल युक्त रंगको प्रयोग बढ्दो छ । केही मेहनत गर्ने हो भने प्राकृतिक वस्तुहरू प्रयोग गरेर तिनको रंगले पनि रमाइलो होली खेल्न सकिन्छ । आधुनिक रंगको विकास नहुँदा होलीमा प्राकृतिक रंग नै प्रयोग गरिन्थ्यो । यस्ता रंगले शरीरमा कुनै असर नगर्ने विभिन्न अध्ययनले देखाएको छ ।
रातो
रातो रंगका लागि रक्तचन्दनको पाउडर प्रयोग गरिन्थ्यो । रक्तचन्दन कम हुने स्थानमा, घण्टीफूल सुकाएर त्यसलाई मसिनो गरी पिसेर पाउडर बनाइन्थ्यो । नेपालको उच्च पहाडी क्षेत्रमा पाइने लालीगुराँसको रस वा अनारको बोक्राको रसलाई पनि रातो रंगका रूपमा प्रयोग गर्न सकिन्छ ।
हरियो
विभिन्न बोटबिरुवाका पात सुकाएर पाउडर बनाइ हरियो रंग तयार गर्न सकिन्छ जसलाई आधुनिक रंगको ठाउँमा प्रयोग गर्न मिल्छ ।
बैजनी
चुकन्दरलाई पानीमा भिजाएर निकालिएको रसलाई बैजनी रंगका रूपमा प्रयोग गर्न सकिन्छ ।
सुन्तला रंग
पलाँसको फूलबाट सुन्तला रंग निकाल्न सकिन्छ । पौराणिक मान्यताअनुसार कृष्णले होलीमा पलाँसको फूलबाट रंग निकालेर होली खेलेका थिए ।
पहेंलो
पहेंलो रंगका लागि बेसनको पिठो वा बेसार प्रयोग गर्ने चलन छ । यी दुवै चिजले शरीरलाई फाइदा पुर्याउँछन् ।
होली कसरी खेल्ने
रंगको पर्व होलीमा घरपरिवार, साथीभाइ तथा इष्टमित्रबीच रंग लगाइदिएर अनि पानी छ्यापेर रमाइलो गरिन्छ ।
एक अर्काबीच रंग, अबिर तथा पानी छ्याप्दा स्वास्थ्यमा समस्या निम्तिन सक्छ ।
चिकित्ससकहरूका अनुसार रंगमा विभिन्न हानिकारक रसायन प्रयोग गरिएको हुन्छ । त्यस्ता रंगको प्रयोगले छालालार्ई असर पार्नुका साथै शरीरका अन्य भागमा पनि समस्या निम्तिन सक्छ । रंग आँखामा पर्यो भने दृष्टिमा, मुख तथा नाकमा परे श्वासनलीमा तथा बढी भए मिर्गौलामा समेत असर पर्छ ।
भारतमा केही वर्ष अघि गरिएको अनुसन्धानमा होलीमा प्रयोग हुने रङमा कपडा रंग्याउन प्रयोग हुने रसायन नै प्रयोग गरिएको कुरा पत्ता लागेको थियो । नेपालमा आउने रंग पनि त्यस्तै किसिमका हुन् ।
होलीको साइत र प्रभाव
प्रत्येक पर्वको छुट्टा–छुट्टै संस्कृतिक मूल्य–मान्यता हुन्छन् । खुसी र उमंगको पर्व होली पनि त्यसबाट फरक हुने कुरै भएन । होली आफैंमा शुभ दिन मानिन्छ र यो दिन सुरु गरेका काममा साइत हेर्नुपर्दैर्न भन्ने विश्वास छ । होलीकाको पवित्र आगोमा जौको वाला तथा बेसन हालिन्छ । यसो गर्दा घरमा खुसी आउने र कसैको कुदृष्टि नपर्ने मान्यता छ । यो वर्ष होलीका दहनको शुभमूहर्त चैत्र ६ गते बेलुका ८ बजेर ५७ मिनेट २८ सेकेन्डलाई मानिएको छ ।