साप्ताहिक संवाददाता
सयौं चलचित्रमा अभिनय गरेका अभिनेता राजेश हमालप्रति समर्पित एउटा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । साधना कला केन्द्रले अभिनेता हमालप्रति सम्मान जनाउन ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ शीर्षकको सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताइअनुसार उक्त कार्यक्रम आगामी जेठमा आयोजना हुनेछ ।
साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानका अनुसार नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी होस् भनेर यो कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा राजेश हमालले अभिनय गरेका विभिन्न चलचित्रका लोकप्रिय गीतहरूलाई विभिन्न गायक–गायिकाहरूले प्रस्तुत गर्नेछन् । शम्भुजित बासकोटा, राजेशपायल राई, यम बराल, रवि ओडलगायतका गायकहरूले उक्त कार्यक्रममा विभिन्न गीतहरू प्रस्तुत गर्नेछन् ।
आफ्नै सम्मानमा कार्यक्रम आयोजना हुने भएपछि अभिनेता हमालले खुसी व्यक्त गरेका छन् । ‘मैले पहिलो प्रश्न म नै किन ? भनेर सोधेको थिएँ, हमालको भनाइ छ– उहाँहरूको उद्देश्य राम्रो लागेर हुन्छ भनेको हुँ । एउटा राम्रो कार्यको थालनी मबाट हुन्छ भने किन नगर्ने भनेर सहमत भएको हुँ । म धन्यवाद पनि दिन चाहन्छु कि पहिलो रोजाइमा म परेँ । यसले एउटा परम्पराको थालनी गरेको छ । यसपछिका दिनमा पनि यसैगरी सर्जकलाई सम्मान गर्न सक्नुपर्छ । सम्मान र दर्शकको माया नै हाम्रो ऊर्जा हो ।
संगीतकार शम्भुजित बासकोटाले अभिनेता हमाल ट्रिब्युटको हकदार भएको धारणा व्यक्त गरे । हमालले आफ्नो जीवनको सुरुवाती पलदेखि नै चलचित्रमा आफूलाई समर्पित गरेका छन् । युगदेखि युगसम्म मार्फत प्रारम्भ भएको उनको यात्रामा उनले आफूलाई निरन्तर कर्मक्षेत्रमै व्यस्त बनाएका छन्, बासकोटाका अनुसार एक यस्ता कलाकार हुन् जसको नाम नै पहिचान हो । उनलाई चिनाउनु पर्दैन ।
गायक राजेशपायल राईले पनि अभिनेता हमालका चलचित्रको गीत प्रत्यक्ष गाउन पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिँदै भनेका छन्– मेरो प्यारो अभिनेता तथा मितज्यू राजेश हमाललाई ट्रिब्युट गरिँदैछ । राजेश हमाल नेपाली चलचित्रका अमूल्य सम्पत्ति हुन् । उहाँका चलचित्रका लागि मैले पनि गीत गाउने मौका पाएको छु । कार्यक्रममा म तीनै गीतहरू प्रस्तुत गर्नेछु ।
नेपाल आइडलका रवि ओडले पनि राजेश हमालको सम्मान कार्यक्रममा गीत गाउन पाउनुलाई भाग्यको कुरा भएको बताएका छन् । मैले उहा“का लागि गीत गाउने मौका त पाएको छैन तर ट्रिब्युटमा केही विशेष प्रस्तुति दिनेछु, ओडले बताए ।