पोखरामा जापानी चलचित्र महोत्सव आयोजना गरिएको छ । जापानी राजदूतावास र जापान फाउन्डेसनको आयोजनामा गैैरापाटन, पोखरामा आयोजित उक्त चलचित्र महोत्सवमा चारवटा जापानी चलचित्र देखाइएको थियो ।
महोत्सवमा सिनोभु याजुचीको ‘सर्भाइभल फ्यामिली’, रिउता ताशाकीको ‘नान्जी किड्स’, याशुहिरो योसिउराको ‘टाइम अफ इभ द मुभी’, ओसामु मिनोरिकावाको ‘इट्स अ ब्युटिफुल लाइफ’ प्रदर्शन गरिएको थियो । जापानी संस्कृति चिनाउने उद्देश्यले आयोजित उक्त चलचित्र महोत्सवमा जापानी भाषा सिक्दै गरेका नेपाली विद्यार्थी तथा जापानी कला एवं संस्कृतिमा रुचि राख्ने स्थानीय नागरिकहरूको बाक्लो जमघट थियो ।
जापानी समाज, संस्कृति, सपना र मनोविज्ञान बुझ्न उक्त चलचित्र महोत्सवले विशेष योगदान दिएको महोत्सवका आयोजकहरूले जनाएका छन् । जापानी राजदूतावासले हरेक वर्ष पोखरा र काठमाडौंमा यस्तो चलचित्र महोत्सव आयोजना गर्दै आएको छ । हरेक वर्ष आयोजना गरिने यस्ता चलचित्र महोत्सवमा दर्शकहरूको रुचि र मागअनुसारका चलचित्रहरू प्रदर्शन गर्ने गरिएको छ ।