साप्ताहिक संवाददाता
सम्भवतः अहिलेसम्मकै सबैभन्दा बढी लगानी गरिएको नेपाली चलचित्र हो— द म्यान फ्रम काठमाडौं । यो चलचित्रपछि नेपाली चलचित्र उद्योगले ठूलै छलाङ मार्छ भन्ने धेरैको अनुमान थियो, तर यो चलचित्र अपेक्षा गरेजस्तो बन्न सकेको छैन । निर्माण पक्षका अनुसार यो चलचित्रमा करिब ५ करोड रुपैयाँ लगानी भएको छ, तर चलचित्रको कमाइ भने निराशाजनक छ । यो चलचित्रले नेपालमा मात्र प्रदर्शन गरेर लगानी उठाउँछ भन्नु आकाशको फल आँखा तरी मर जस्तै हो । चलचित्रका निर्माता नकिम उद्धिन नै नेपालको शोले मात्र लगानी उठाउनेमा विश्वस्त छैनन् । विदेशमा हुने शोहरूले चलचित्रको लगानी उठाउन सघाउने अपेक्षा नकिम उद्धिनले गरेका छन् ।
चलचित्रमा एउटा छोराले आप्mना पितालाई भेट्नका लागि अमेरिकादेखि नेपालसम्म गरेको यात्राका क्रममा देखिने विभिन्न आरोह र अवरोहलाई प्रस्तुत गरिएको छ । बलिउड अभिनेता गुलशन ग्रोवर, पाकिस्तानका अभिनेता हमिद शेख र हलिउड अभिनेता जोसे म्यानुअल चलचित्रको मुख्य भूमिकामा छन् । बलिउड अभिनेता गुलशन ग्रोवर मुस्लिम धर्मावलम्बी नेता अबु मियाको भूमिकामा देखिएका छन् भने हिन्दू धर्मावलम्बी नेता पण्डितको भूमिकामा पाकिस्तानी अभिनेता हमिद शेख छन् । चलचित्रमा अभिनेता नीर शाह समाजसेवी सुरेशको भूमिकामा छन् र नेताको आडमा रहेर अपराध गर्ने पात्रका रूपमा अभिनेता कर्मा प्रस्तुत भएका छन् । हलिउड एक्टर जोसे म्यानुअल फैजलको भूमिकामा छन् । उनी अमेरिकामा बस्छन् । उनकी आमा हिन्दू र बुबा मुस्लिम समुदायका हुन्छन् । यद्यपि चलचित्रमा उनको बुबालाई देखाइएको छैन् । फैजलको परिवारका सबै सदस्यले आफ्नो बाबुलाई नराम्रो भन्छन्, यद्यपि फैजल भने आफ्नो बाबुलाई एउटा लडाकु ठान्छन् । आफ्नो बाबुलाई भेट्ने इच्छाका साथ उनी बाबुलाई खोज्दै नेपाल आउँछन् । नेपालको काठमाडौंमा आएपछि उनी विभिन्न झमेलामा पर्छन् । यसैको सेरोफेरोमा चलचित्र घुमेको छ । यतिमात्र होइन, चलचित्रमा फैजलले आफू मुस्लिम समुदायको भएकै कारण अमेरिकामा धेरै अपमान बेहोर्नुपरेको कुरालाई पनि चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ ।
निर्देशक पेमा धोन्डुपले चलचित्रमा काठमाडौंको समाज र यहाँको राजनीति एवं धार्मिक हानथापको कथालाई प्रस्तुत गर्न खोजेका छन्, तर त्यो पर्याप्त भने छैन । उनले चलचित्रको केही ठाउँमा कैंची लगाउन सक्थे । त्यसमा उनी चुकेको प्रस्ट देखिन्छ ।
कलाकारको हकमा विदेशी कलाकारहरूको अभिनयलाई औसत मान्न सकिन्छ । नेपाली कलाकारहरू आना शर्मा, मिथिला शर्मा, नीर शाह र कर्माले भने केही हदसम्म आफ्नो पात्रसँग न्याय गरेका छन् ।
चलचित्रको डबिङमा कमजोरी देखिएको छ, जसका कारण चलचित्रको अभिनय र संवादमा तालमेल छैन । चलचित्रमा धेरैजसो संवाद अंग्रेजी र नेपाली भाषामा छ, जसले गर्दा सामान्य दर्शकका लागि कथा बुभ्mनै समस्या पर्छ । पटकथा पनि सशक्त छैन । चलचित्रमा जति लगानी भएको छ त्योअनुसारको सिनेम्याटोग्राफी पनि राम्रो छैन । समग्रमा भन्नुपर्दा चलचित्रको छायांकन र डबिङमा हतार गरिएको अनुमान लगाउन सकिन्छ ।