साप्ताहिक संवाददाता
गत साता प्रदर्शनमा आएको चलचित्र हो— जानी नजानी । यो चलचित्रको कथा र प्रस्तुतीकरण राम्रो भए पनि यो चलचित्रले उल्लेख्य व्यापार भने गर्न सकेन । २ करोड रुपैयाँ लगानी भएको उक्त चलचित्रले मंगलबारसम्म करिब १ करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको चलचित्रकी निर्माता रोशनी केसीले बताएकी छिन् ।
केसीका अनुसार अर्को साता पनि टिक्यो भने चलचित्रले लगानी उठाउनेछ, यद्यपि हलमा दर्शकको उपस्थिति हेर्दा त्यो दिवास्वप्नजस्तै लाग्छ । वसन्त अधिकारीको निर्देशन रहेको यो चलचित्रले सामाजिक प्रेमकथा बोलेको छ । चलचित्रले लोप हुँदै गएको ढाकाको कपडालाई पनि प्रोत्साहन दिन खोजेको देखिन्छ । चलचित्रमा बाबुको कमाइमा मोजमस्ती गर्ने पारिवारिक जिम्मेवारी केही पनि बहन नगर्ने एउटा युवा कसरी युवतीको प्रेमजालमा पर्छ भन्ने कुरा देखाइएको छ, साथै त्यो युवकले जिन्दगीलाई कुन दृष्टिकोणले हेर्छ भन्ने कुरा पनि चलचित्रमा देखाउन खोजिएको छ ।
सामाजिक प्रेमकथामा बनेको यो चलचित्रको प्रस्तुतिमा पुरानै शैली अपनाइएको छ । चलचित्रमा ठाउँ–ठाउँमा निर्देशकीय कमजोरी स्पष्टै देखिन्छ । निर्देशकले कतिपय आवश्यक पर्ने ठाउँमा कैंची लगाएका छन् भने अनावश्यक दृश्यहरूलाई पर्दामा उतारेका छन् । चलचित्रको सिनेम्याटोग्राफी ठीकै छ ।
कलाकारहरूको अभिनयलाई पनि औसत श्रेणीमै राख्न सकिन्छ । यो चलचित्रमा प्रायः नयाँ अनुहार छन्, त्यसमध्ये नायिका निरिषा बस्नेतको यो पदार्पण चलचित्र हो । उनले चलचित्रमा गरेको अभिनय औसत नै छ ।