जापानमा हुने अन्डर–१२ कोपापुमा टोरेरस फुटबलका लागि छनोट भएका खेलाडीहरू यतिबेला पोखरामा बन्द प्रशिक्षणमा व्यस्त छन् । चौथो पटक जापान जान लागेको टिममा नेपालका विभिन्न ठाउँका १२ जना खेलाडी छानिएका छन् ।
यसरी छानिनेमा काठमाडौंका एलेक्स पौडेल, पोखराका समिर गौतम, काठमाडौंका विश्वास ओझा, बाग्लुङका विविध थापा, हेम्जाका सफल थापा, कसेरीका विनय तामाङ, पोखराकै आर्यन गुरुङ, नागढुङ्गाका विज्ञ गौचन, पोखराका प्रकाश तामाङ, पोखराका सविन नेपाली, स्याङजाका विशाल विक तथा बुटबलका सरोज दर्लामी छन् । जापानमा हुने उक्त प्रतियोगितामा युरोप, जापान लगायत अन्य ठाउका ४० टिमको सहभागिता रहनेछ ।
मार्चको २५ तारिख अर्थात चैत ११ मा नेपाली टिम जापान प्रस्थान गर्नेछ । नेपालले पहिलो खेल २९ मार्च अर्थात चैत १५ मा खेल्नेछ । विगतका वर्षमा पोखराका खेलाडी मात्र टिममा समावेश गरिए पनि यस पटक देशभरबाट खेलाडी छानिएको हो । छनोटमा ३ सय ५० जना सहभागी थिए ।
यसपालिको टिमबाट राम्रो अपेक्षा गरेको प्रशिक्षक शम्भू केसीले बताए । ‘टिम राम्रो छ, फस्ट वा सेकेन्ड हुने हो भने त्यस पछाडि अरू अवसर पनि प्राप्त हुनेछन्’ उनले भने । जापानमा खेलेर फर्किएपछि रिर्टन ट्रेनिङमा आउनेहरूको संख्या निकै कम हुने उनले बताए । एक पटक जापानमा खेलिसकेपछि अधिकांश पलायन हुने गरेका छन् । यसमा राज्य पक्षले सर्पोट गरी उनीहरूलाई फुटबलमै टिकाउनु पर्छ– केसी भन्छन् ।
‘अहिलेको टिममा गत वर्षको तुलनामा अझ राम्रा खेलाडी छन्’ अर्का प्रशिक्षक राजेन्द्र तामाङले भने । पूर्वराष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनको पहलमा यसरीनै वर्षेनी नेपाली खेलाडीलाई जापानमा अवसर प्रदान गरिँदै आएको छ । बसन्त जापानको फन्ड रुट एकेडेमीमा प्रशिक्षकका रूपमा कार्यरत छन् ।