साप्ताहिक संवाददाता
नेपालमा म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप आयोजना गरिने भएको छ । एसइइका विद्यार्थीहरुलाई ठूलो मञ्च र अवसर प्रदान गर्ने उद्धेश्यले च्याम्पियनशिप आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नृत्य मनोरञ्जनको साधन मात्र नभई शिप सहितको शिक्षा हो भन्ने सर्वब्यापी मान्यतालाई स्थापित गराउने उद्धेश्यसहित कार्यक्रम गर्न लागिएको कार्यक्रमका परिकल्पनाकार महेश गोदारले बताए ।
उनले बैशाख १० गतेबाट २५ गतेसम्म देशका विभिन्न शहरमा अडिसन हुने र अडिसनबाट ६० जनालाई टिभी राउण्डमा ल्याइने बताए । टिभी राउण्डमा आएका ति ६० जनालाई प्लस टु पढनका लागि शत प्रतिशत छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिए । कार्यक्रममा विजेतालाई नगद १ लाख रुपैयाँसहित स्कुटर प्रदान गरिनेछ । त्यस्तै उपविजेतालाई नगद ३० हजार, तृतियलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
म्याम्स टिभिका महाप्रवन्धक दिनेश सुवेदीले कार्यक्रममा भोटिङ राउण्ड नहुने बताउँदै निष्पक्ष निर्णय हुने उनले बताए । कार्यक्रमको निर्णायक भूमिकामा कोरियोग्राफर गम्भिर विष्ट, नन्दा बस्याल र प्रेम श्रेष्ठ रहेका छन् ।
म्याक्स टिभीको प्रस्तुतीमा बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा हुन लागेको हो । एनटिभी प्लस र म्याक्स टिभी अन्तर्गत १० भन्दा बढी च्यानलबाट कार्यक्रम प्रशारण हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । अडिसन पोखरा, काठमाडौँ, धरान, बिर्तामोड, कोहलपुर, सुर्खेत, धनगढी, बुटवल, नारायणघाट, धादिंग, इलाम र बनेपामा हुनेछ ।