साप्ताहिक संवाददाता
स्विट्जरल्यान्डको जेनेभामा ८९ औं जेनेभा मोटर शो चलिरहेको छ । मार्च ७ देखि प्रारम्भ भएको उक्त मोटर शो १७ मार्च सम्म चलेको थियो । मोटर शोमा विभिन्न नयाँ डिजाइनका गाडीहरू सार्वजनिक गरिएका छन् । तीमध्ये इलेक्ट्रिक गाडी विशेष आकर्षण बनेका छन् । उक्त मोटर शो मा ९६ कार निर्माता कम्पनी र ८८ कम्पोनेन्ट कम्पनीको सहभागिता छ । उक्त मोटर शो ७ लाख ग्राहकले अवलोकन गरेको अनुमान छ ।
सबैभन्दा महँगो कार
संसारकै सर्वाधिक महँगो कार बनाउने कम्पनी बुगाटीले हाल सम्मकै सबैभन्दा महँगो स्पोर्ट्स कार ‘ला भोइचर न्वायर’ लन्च गरेको छ । सो कारलाई विभिन्न कस्टम वर्कद्वारा डिजाइन गरिएको छ । ला भोइचर न्वायरलाई फ्रेन्च भाषामा ‘कालो कार’ भनिन्छ । सो कारमा ह्यान्ड क्राफ्टेड फाइबरको बडी वर्क प्रयोग गरिएको छ । यसको बम्परलाई बडीसँगै सामेल गरिएको छ । त्यसैगरी यसको विन्डस्क्रिनलाई हेलमेटको भाइजर जस्तो गरी डिजाइन गरिएको छ ।
ला भोइचर न्वायर हालसम्मकै सबैभन्दा महंगो स्पोर्ट्स कार हो । कम्पनीले केवल एउटा माक्र कार निर्माण गरेको छ । सो कार किन्ने ब्यत्तिको नाम पनि हालसम्म सार्वजनिक गरिएको छैन । सो कारमा बुगाटी चिरोन स्पोर्टमा भएको ८.० लिटर डब्ल्यु१६ इन्जिन उपलब्ध छ । मात्र २.५ सेकेन्डमा सो कारले ० देखि १ सय किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । त्यसैगरी यसको टप स्पिड ४२० किलोमिटर प्रतिघण्टा छ । ला भ्वाइचर न्वायरको मूल्य १ करोड ६७ लाख युरो तोकिएको छ । नेपालमा आउने हो भने कर सहित हिसाब गर्दा करिब ६ अर्ब रुपैयाँ पर्न सक्छ ।
फक्सवागनको बग्गी कार
फक्सवागनले आफनो इलेक्ट्रिक कार ड्युन बग्गी सार्वजनिक गरेको छ । २ सिट भएको सो कार निकै सानो छ । सो कारको इन्टेरियरमा वाटर रजिस्टेन्ट लेदर जडान गरिएको छ । सो कारमा ६२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यसले एक पटकको फुल चार्जमा २ सय ५० किलोमिटरको दुरी तय गर्छ । सो कारको टप स्पिड १ सय ६० किलोमिटर प्रतिघण्टा छ । यसले ० देखि १ सय किलोमिटर प्रतिघण्टाको गति ७.२ सेकेन्डमै लिन्छ ।
फुल चार्जमा ५०० किलोमिटरसम्म
अडीले आफ्नो इलेक्ट्रिक एसयूभी कार क्यु४ ई–ट्रोन जेनेभा अटो शोमा सार्वजनिक गरेको छ । यसले एक पटकको फुल चार्जमा ४ सय ५० किलोमिटरको दूरी तय गर्छ । सो कारको प्रोडक्सन सन् २०२० मा
सुरु हुनेछ ।
भाल्वो पोलस्टार २
मोटर शोमा भाल्वोले टेस्ला मोडल ३ सँग प्रतिस्पर्धा गर्न पोलस्टार २ लन्च गरेको छ । यसले एक पटकको फुल चार्जमा ४ सय ८० किलोमिटरको दूरी तय गर्छ । यसले ० देखि १ सय किलोमिटर प्रतिघण्टा स्पिड मात्र ५ सेकेन्डमा तय गर्छ ।
हार्लेको इलेक्ट्रिक बाइक
हार्ले डेभिडसनले आफ्नो पहिलो इलेक्ट्रिक बाइक ‘लाइभवायर’ पनि प्रदर्शन गरेको छ । सो बाइकलाई एक पटक फुल चार्ज गर्दा २ सय २५ किलोमिटर चलाउन सकिन्छ । यसको पुरानो मोडललाई १ सय ७७ किलोमिटर मात्र चलाउन सकिने बताइएको थियो । हार्ले डेभिडसनले उक्त बाइकलाई हाल अपग्रेड गरेको हो । यसको मूल्य ३० हजार डलर तोकिएको छ । सो बाइकले ३ सेकेन्डमै ० देखि १ सय किलोमिटरको गति लिन सक्छ ।
हार्लेले गत भदौ महिनामा आफ्नो १ सय १५ औं वार्षिकोत्सवको अवसरमा पहिलो इलेक्ट्रिक बाइक लाइभवायर सार्वजनिक गरेको थियो । सो बाइकमा स्टिल ट्रेलिस फ्रेम, कास्ट आल्मुनियम स्विङआर्म, रियर सेट पेग्स, ब्रेम्बो क्लिपर्स र इनभर्टेड फोर्क्स आदि सुविधा उपलब्ध थिए । यसमा स्मार्टफोन कनेक्टिभिटीयुक्त फुल कलर टीएफटी इन्स्ट्रयुमेन्ट प्यानल छ । सो बाइक अब बजारमा उपलब्ध हुने छैन । आगामी अगस्टसम्म मात्र सो बाइक बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।