साप्ताहिक संवाददाता
गायिका अञ्जु पन्तले आफू फेसनेवल नभएको बताएकी छिन् । कुसुम बुटिकको उद्घाटन गर्दै पन्तले भनिन्– म फेसन कन्सस पनि होइन तर स्टेज पर्फमेन्स गर्दा फेसन गर्नु परिहाल्यो । मलाई त सारीमै पर्फमेन्स दिन मनलाग्छ किनभने अहिले स्टेजमा सारी देखिनै छाडिसकेको छ ।’
फेसन डिजाइनर कुसुम श्रेष्ठले सञ्चालनमा ल्याएको ‘कुसुम बुटिक’को उद्घाटनपछि आगन्तुक पाहुना तथा आफ्ना प्रशंसकहरूसँग तस्बिर खिचाउँदै उनले भनिन्– म पनि निकै राम्री पो देखिएकी छु । अञ्जु कुसुम बुटिककै सिल्भर कलरको लेहेंगा तथा रानी कलरको गाउनमा निकै खुलेकी थिइन् ।
फेसन कन्सस नभएपनि अञ्जुले खाना–पानमा भने निकै ख्याल गर्न थालेकी छिन् । केही महिनाअघि मात्र ६७ किलोग्रामकी अञ्जुले अहिले आफ्नो तौल ५० किलोग्राममा झारेकी छिन् । पत्रकारहरूसँग कुराकानी गर्दै पन्त भनिन्– ५० किलोग्रामभन्दा पनि कम छु होला । यो सबै खानपानकै करामत हो ।
ठट्टा गर्न माहिर अञ्जुले भनिन्– अहिले त म मेरी छोरी भन्दा पनि सानी भएकी छु ।’ ‘म डाइटिङ गर्दिन’ अञ्जु भन्छिन्, ‘समयमा खानु र सुत्नु नै स्वास्थ्यको सबैभन्दा ठूलो केयर हो ।’ अञ्जुलाई अहिलेसम्म कति गीतमा स्वर दिएँ भन्न यकिन छैन । उनले भनिन्, ‘दैनिक ३ देखि ६ वटासम्म गीत गाउँदै आएकी छु । अहिलेसम्म त्यस्तै ६ हजार पुग्यो होला ।’