साप्ताहिक संवाददाता
नेपाली चलचित्र र साँगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका मिलन नेवार र राजनराज शिवाकोटीले बेलायतमा साँगीतिक प्रस्तुती दिने भएका छन् ।
गायक शिवाकोटीको कुटुमा कुटु, सुर्के थैली, पूर्व पश्चिम रेल, गोजीमा दाम छैन साथै गायिका नेवारको गाला रातै, बट स्लोली, सिरिमा सिरि.... लगायत कयौं गीतहरु चर्चामा छन् ।
उक्त कार्यक्रम सहिद स्मृति आवासीय माध्यमिक विद्यालय सुनसरीका द्वन्द्व पिडित बालबालिको सहयोगार्थ ‘मिरा साँगीतिक साँझ’ हुने भएको हो । मिलन च्यारिटी फाउन्डेसन नेपाल, अग्रगामी समूह बेलायत र आदिवासी चलचित्र महासंघ बेलायतको संयुक्त आयोजनामा बेलायतको बिभिन्न शहरमा साँगीतिक साँझ हुने गायिका नेवारले बताईन् ।
सहिद स्मृति आवासीय माध्यमिक विद्यालय २०६६ सालमा स्थापना भई इटहरीको भवानीपुरमा सञ्चालन भइरहेको छ । जहाँ सहिद तथा बेपत्ता परिवारका ४०० असहाय विद्यार्थीले शिक्षा पाइरहेका छन् । शिवाकोटी र नेवार विद्यालयका सद्भावना दूतसमेत हुन् ।
पवित्र उदेश्यको लागि आयोजना गरिएको यस साँगीतिक साँझमा गायिका नेवारले कार्यक्रममा दर्शक तथा स्रोतामा उल्लेखनीय उपस्थित हुनका लागि सबैमा अनुरोध गरेकी छिन् । गायिका मिलनको यो दश्रो भ्रमण हुनेछ । उनी दर्शक श्रोताको सामिप्यमा आउन निक्कै उत्साहित छन् ।