काठमाडौंको सडकमा यात्रा गर्दा दिक्कै लाग्छ । धूवाँ–धूलो ट्रफिक जाम अनि मानिसहरूले जथाभावी बाटो क्रस गरेको देख्दा टाउको दुख्छ ।
अजय रेग्मी, छायाँकार
मलाई काठमाडौंको सडकमा गाडी चढेर हिँड्दा बाइकवालाहरूसँग धेरै रिस उठ्छ । अनि बाइक चढेर हि“ड्दा गाडीवालाहरूसँग रिस उठ्छ । त्यसैले बिहान घरबाट जुन सवारी साधनमा निस्कन्छु त्यसैमा भर पर्छ मलाई के कुराले रिस उठ्छ ।
असिम शाह, निर्माता तथा निर्देशक
काठमाडौंको सडकको हरेक कुरादेखि रिस उठ्छ । त्यसमाथि पनि जथाभावी ढंगले सवारी साधन चलाउने चालकको बानीदेखि साह्रै रिस उठ्छ ।
लक्ष्मी ठाकुर, हेयर स्टाइलिस
काठमाडौंको सडकमा एकछिन मास्क र चस्मा नलगाई हिँड्यो भने तत्कालै बिरामी परिन्छ । त्यसैले मलाई यहाँको धूवाँ–धूलोदेखि असाध्यै रिस उठ्छ ।
अस्मिता राना, मोडल
धूवाँ–धूलो फोहोरमैला अनि अव्यवस्थित र विचलित मानिसहरूदेखि साह्रै रिस उठ्छ । कोही पनि अनुशासनमा रहेको देखिँदैन ।
थानेश्वर गौतम, गायक
एउटा भए पो भन्नु, न त बाटोमा हिँड्ने मानिसलाई सजिलो छ न त सवारी साधनमा हिँड्नेलाई । फुटपाथदेखि सडकको चौडाइ अनि जेब्रा क्रस नै क्लियर छैन । जाँदाजाँदै कुन खाल्डोमा परिन्छ, थाहा नै हुँदैन । यस्ता कुरा सम्झँदा उच्च रक्तचाप हुन्छ । नेपालीहरूमा उच्च रक्तचाप हुने एउटा कारण यही सडकको अस्तव्यस्तता पनि हो जस्तो लाग्छ ।
आर्जन पाण्डे, गायक
काठमाडौंको सडकको धूलो अनि ट्राफिक नियमलाई उल्लंघन गरेर हिँड्ने सवारी साधन चालकदेखि साह्रै रिस उठ्छ ।
केशव भट्टराई, निर्माता तथा कलाकार
काठमाडौंको सडकको धूलो–धूवाँ, फोहोरमैला अनि यहाँको ट्राफिक जाम देख्दा साह्रै रिस उठ्छ ।
सृष्टि खड्का, मोडल
धेरै छन् । पहिलो त सडकको बनावट देखेरै रिस उठ्छ । अर्को कुरा, धूलोले पनि कन्सिरी तात्छ । ट्राफिक लाइटको पनि राम्रो व्यवस्था छैन, अनि मानिसहरू आकाशे पुल हुँदाहुँदै त्यही आकाशे पुलमुनिबाट हिँड्दा पनि उनीहरूलाई कारबाही नभएको देख्दा रिस उठ्छ ।
शंकर बीसी, नृत्य निर्देशक तथा मोडल
काठमाडौंका सडक धेरै अस्तव्यस्त छन् । धेरै पहिलेदेखि निर्माण सुरु भएका सडक अझै पनि सम्पन्न भएका छैनन् । सडकका नाममा धेरै भ्रष्टाचार भैरहेको छ, यही कुराले मलाई निकै रिस उठ्छ ।
प्रदीप भारद्धाज, लेखक
काठमाडौंका मूल सडकहरूमा आकाशे पुल हु“दाहु“दै त्यसको प्रयोग नगरी पुलमुनिबाट बाटो काट्नेहरू र सडकमा जथाभावी सवारी साधन पार्किङ गर्नेहरूदेखि निकै रिस उठ्छ ।
नानी थापा, रंगकर्मी
काठमाडौंका धेरैजसो सडक निर्माण भैरहेका कारण अत्यधिक धूलो उड्छ, धूलोले काठमाडौंको सुन्दरतामै खोंट लगाएपछि धेरैजसोले धूलोमाण्डु पनि भन्न थालिसकेका छन् । कतै जानुपर्दा सेतो कपडा लगाएर निस्कियो भने गन्तव्यसम्म पुग्दा धूलोको कारण त्यो खैरो भैसक्छ, अनि धूलोकै कारण सास फेर्नै गाह्रो भैसकेको छ । त्यसैले मलाई काठमाडौंको सडकमा यात्रा गर्दा सबैभन्दा धेरै रिस उठ्ने भनेको यही धूवाँ र धूलो नै हो ।
जाहन्वी बस्नेत, मोडल
काठमाडौंको सडकको धूलो–धूवाँदेखि निकै रिस उठ्छ । अनि यहाँको ट्राफिक जामले गर्दा पनि भनेको समयमा पुगिँदैन ।
भिमु गुरुङ, गायिका
काठमाडौंको सडकको रिस उठ्ने कुरा भनेको यहाँको धूवाँ–धूलो नै हो । जसले गर्दा सामान्य मानिसको पनि स्वास्थ्यमा जोखिम सिर्जना भएको छ । अहिले राजधानीवासी धेरैजसो यही धूवाँ–धूलोकै कारण रुघाखोकी, दम जस्ता रोगबाट पिडित छन् ।
विक्रान्त मेहता, चिकित्सक तथा गायक
जथाभावी बाटो काट्नेहरू, ट्राफिक नियम पालना नगर्ने अनि जथाभावी हर्न बजाउनेदेखि निकै रिस उठ्छ ।
विशाल थापा, मोडल
काठमाडौंको सडकमा यात्रा गर्दा सबैभन्दा रिस उठ्ने कुरा भनेको यहाँको धूवाँ–धूलो अनि ट्राफिक जाम नै हो ।
आँचल शर्मा, अभिनेत्री
काठमाडौंको सडकमा जथाभावी बाटो काट्नेहरूदेखि निकै रिस उठ्छ । यस्तै ट्राफिक लाइट पनि व्यवस्थित छैन जसले गर्दा ट्राफिक जाम पनि त्यत्तिकै हुन्छ । यिनै कुराले काठमाडौंको सडकमा यात्रा गर्दा रिसाउन बाध्य भइन्छ ।
श्वेता खड्का, अभिनेत्री
काठमाडौंको सडकमा मोटरसाइकल होस् वा गाडी दुवै अनियन्त्रित ढंगले चलाएको देख्दा निकै रिस उठ्छ । अनि अर्को कुरा सडक आज बनायो भने भोलिपल्ट फेरि खन्न सुरु गरिहाल्छन्, यसरी सडकको नाममा दोहन गरेको देख्दा साह्रै रिस उठ्छ ।
बाबु बोगटी, गायक