साप्ताहिक संवाददाता
पोखराको सांगीतिक क्षेत्रमा लोकप्रिय गायक विनोद बानियाँले थुप्रै आधुनिक तथा पप गीतहरू गाइसकेका छन् । संगीतकारका रूपमा समेत सक्रिय यी पोखरेली गायक अब चलचित्रको पार्श्व गायनमा समेत सुनिने भएका छन् ।
अभिनेता माओत्से गुरुङले समेत निर्देशनमा पदार्पण गर्न लागेको चलचित्र ‘दयारानी’ मार्फत विनोदले पार्श्व गायनमा पदार्पण गर्न लागेका हुन् । माओत्सेले यसअघि गुरुङ भाषाका विभिन्न नौवटा चलचित्र निर्देशन गरिसकेका छन् ।
आधुनिक, पप, गजल, राष्ट्रिय तथा खेलकुद गरी दर्जनौं गीत गाउनुका साथै संगीतबद्ध गरिसकेका संगीतकर्मी बानियाँले दयारानीका दुईमध्ये एक गीतमा संगीतकारका साथै गायकका रूपमा प्रस्तुत हुन लागेका हुन् ।
‘लाइदेऊ छपक्कै...’ शीर्षकको उक्त गीतमा बानियाँलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । उक्त गीतको भिडियो केही दिनमै सार्वजनिक हुने गायक तथा संगीतकार बानियाँले जनाएका छन् ।