निःसन्देह, केशव भट्टराई लामो समयदेखी चलचित्र क्षेत्रमा खारिएर विकास वोर्डको हैसियतसम्म पुगेका व्यक्ती हुन् । उनलाई कलाकारको पीडा रामैसँग थाहा छ । निर्माताको पीडा पनि गज्जबले बुझेका छन् । नेपाली चलचित्र उद्योगलाई कसरी विकास गर्न सकिन्छ भन्ने बाटो पनि देखेका छन् । सोहि कारण भट्टराई ठूलो आत्मविश्वासका साथ बोर्ड सम्हाल्न आइपुगेका छन् । यद्यपी आत्मविश्वाससँगै उनमा केहि डर पनि छ । ‘मप्रति धेरैले धेरै आशा राख्नुभएको छ, उहाँहरुको आशालाई कसरी पुरा गर्न सकिन्छ भन्ने चुनौती छ ।’ उनी भन्छन्, चुनौतीसँगै भट्टराईले नेपाली चलचित्र उद्योगको सम्बृिद्धको बाटो पनि देखेका छन् । तर उनले त्यो बाटो सहज मानेका छैनन् ।
नवनियुक्त अध्यक्ष भट्टराईको नियुिक्तमा कतै बिबाद देखिएन । विवाद देखिनुपथ्र्यो भन्न खोजिएको हैन । तर, यसअघि अधिकांस अध्यक्ष नियुक्तिको क्रममा बिबाद हुन्थ्यो । भट्टराई नियुक्ति हुँदा कतैपनि बिबाद भएन । नेपाली चलचित्र क्षेत्रलाई लामो समयदेखी बुझेको मान्छे वोर्डको अध्यक्ष हुनुपर्छ भन्ने तर्क उठ्दै आएको थियो । भट्टराईलाई सबैले खुलेर स्वागत गरेका छन् । सवैको आशा र भरोसा बनेका उनका लागि विकास बोर्डको अध्यक्षको जिम्मेवारी त्यति सहज भने छैन । उनले नेपाली चलचित्र उद्योगमा विभिन्न चुनौती छर्लङ्गै देखेकाले काम उति सहज देखेका छैनन् । उनी भन्छन्, ‘मेरो कार्यकाल बिगतका अध्यक्षहरुको तुलनामा धेरै गाह्रो छ, तर मज्जाले काम गर्ने प्रयास गर्नेछु ।’ भट्टराईले चलचित्रकर्मीको हक र हितका लागी मात्रै नभएर समग्र नेपाली चलचित्र उद्योगको विकासका लागी दिलो ज्यान दिएर काम गर्ने बताउँछन् । उनले चलचित्र क्षेत्रसँग सम्बन्धित निकायलाई एउटै कुराको आग्रह गर्छन्, ‘यदि म सफल भएँ भने तपाई सफल हुने हो, आफु सफल हुनका लागी तपाई आफ्नो ठाउँबाट सहयोग गरिदिनुहोला ।’
केशव भट्टराईले ३१ वर्ष चलचित्र क्षेत्रमा बिताए । यो उमेरसम्म आउँदा उनले केहि चलचित्र निर्माण गरेका छन् । अझ त्यो भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । चलचित्र क्षेत्रमा भिजेर पनि होला उनले यस क्षेत्रका समस्या नजिकबाट नियालेका छन् । कहिल्यै बिबादमा नआएर विभिन्न संघ सस्थामा सफल रुपमा काम गरेका कारण पनि उनीबाट धेरैले अपेक्षा गरेका छन्, यो स्वभाविक पनि छ ।
नेपालमा चलचित्र यति धेरै बन्छन् की त्यसलाई थेग्न सक्ने दर्शक छैनन् । त्यसमाथी दर्शकको अपेक्षा भन्दा बेग्लै किसिमका चलचित्र निर्माण हुँदा दर्शकमा एक किसिमको निराशा छाएको छ । नेपाली चलचित्रमा निर्माताहरुले महिनामा २० करोड रुपैयाँ भन्दा माथीको खोलो बगाईरहेका छन् । यद्यपी, कमाई भने छैन । एकपछि अर्को गर्दै लगातार रुपमा नेपाली चलचित्रको लगानी बालुवामा पानी जस्तै भैरहेको छ । भट्टराईले कसरी निर्माताको लगानी सुरक्षित हुन सक्छ ? यसबारे चिन्तन पनि गर्नुपर्ने देखिन्छ । तर, उनले चलचित्र क्षेत्रमा भैरहेको दादागिरी, मपाइत्व प्रवृत्ति, वेथिती, अनावश्यक र अस्वस्थ प्रतिस्पर्धालाई नजिकवाट बुझेका कारण यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा चिन्तित रहेको बताए । देख्दा सामान्य कुरा हो तर यसले ठुलो अर्थ राख्छ, उनले भने, ‘विभिन्न व्यक्ती, संघसंस्थास“ग समन्वय गरेर यसलाई समाधान गर्नुपर्छ ।’
अघिल्लो कार्यकालमा निकिता पौडेलले लागु गरेको बक्सअफिसको कार्यान्वयन हुन नसक्दा यसको कार्यान्वयनको जिम्मेवारी पनि उनकै काँधमा छ । भट्टराई थप्छन्, ‘म सकेसम्म कम बोल्ने र जसरी हुन्छ काम गरेर देखाउने पक्षमा छु, साना–तिना कार्यक्रममा पुगेर समय खर्च नगर्ने र मिडियामा पनि अनावश्यक अन्तवार्ता र समाचारमा नछाउने सोच छ, सकभर नबोलाइदिनुहोला ।’
बक्सअफिस लागु हुनु र कार्यान्वयनमा आउनु फरक कुरा हो । काठमाण्डौंबाट बक्सअफिस लागु भएपनि अपेक्षाअनुसार कार्यान्वयनमा आउन सकेन । सोहि कारण पनि निर्माताहरुले बक्सअफिस लागु भएपछि पनि आफ्ना समस्या समाधान हुन नसकेको बताउने गरेका छन् । नाम मात्रैको बक्सअफिसलाई उनले आफ्नो कार्यकालमा जसरी पनि कार्यान्वयनमा ल्याउने बताए । भट्टराईका सामु अर्को चुनौती हो, चलचित्र निती । लामो समयदेखी मन्त्रालयमा थन्किएको चलचित्र नितीलाई पारित गराउने र यसलाई कार्यान्वयनमा ल्याउने चुनौती सामान्य हैन । तर उनले यसलाई कार्यान्वयनमा ल्याउन जोडदार रुपमा लाग्ने बताउँछन् उनि । उनका अनुसार चलचित्र निती कार्यान्वयनमा आउन सक्यो भने धेरैका समस्या सहज रुपमा समाधान हुने थिए । उनि भन्छन्, 'धेरै कुरा चलचित्र नितिमै समेटिएको छ, कार्यान्वयनमा आयो भने अहिलेको जस्तो झुर चलचित्र वजार एकाएक हराउनेछ ।'
विकास वोर्डको अध्यक्षको कुर्सिमा बसेसँगै भट्टराइले केहि कुरामा चिन्तन गरेका छन् । सुचना तथा संचार मन्त्रालयमा भावी कार्ययोजना पेश गरेपनि आफ्नो कार्यकालमा कुन कामलाई कस्तो प्राथमिकता दिएर अगाडि बढ्ने ? खाका लगभग तयार गरिसकेका छन् । उनी भन्छन्, ‘पहिलो एक महिना मेरो कार्यकालमा के–कस्ता कामलाई कुन प्राथमिकता दिएर काम गर्ने भन्ने तयारी गर्दैछु । त्यसपछि मिडियामा खुलस्त भन्न सक्नेछु ।’ यद्यपी उनले देशैभरिका हलमा बक्सअफिस, लामोसमयदेखी थन्किएको चलचित्र निती पारित गराउने र यसको कार्यान्वयन, २ बर्षदेखी रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार जतिसक्दो चाँडो गर्ने, नेपाली चलचित्रको बजार बिस्तारलाई मुख्य प्राथमिकतामा राखेका छन् । चलचित्र क्षेत्रमा जता फर्किएर हेरेपनि बेथिती मात्रै देखिन्छ, उनि भन्छन्, ‘सुचना तथा संचार मन्त्रालयमा मैले भाबी कार्ययोजनाको १६ वटा बुँदामा पेश गरेको छु, केहि महत्वकांक्षी योजना पनि छन्, मैले सकेसम्म काम देखाउने पक्षमा छु ।’
आधा भन्दा धेरै जनस“ख्या रहेको तराईमा नेपाली चलचित्र चल्दैनन् । तराइका नेपालीहरुले नेपाली कलाकारलाई नचिन्ने ठुलो समस्या छ । जब आफ्नै देशका कलाकार नचिन्ने र आफ्नै चलचित्रलाई नहेर्ने नेपालीका कारण कसरी नेपाली चलचित्रको कमाई हुन्छ ? यस विषयमा भट्टराई गम्भिर भएर लाग्ने बताउँछन् । महोत्सव, गोष्ठि, सेमिनार गरेर हुन्छ कि सुटिङ डेस्टिनेशन निर्माण गरेर हुन्छ मुलधारका नेपाली चलचत्रिलाई त्यो स्थानमा माग बढ्न सक्नेगरी बजार बिस्तार गर्ने उनको सोच छ । त्यससँगै नेपालीहरु बस्ने विभिन्न देशमा नियमित रुपमा चलचित्र चलाउनका लागी समेत पहल गर्ने तयारी छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र पुगेपनि नियमित हुन सकेका छैनन् । एक अथवा दुईदिन केहि नेपाली जम्मा पारेर चलचित्र देखाएपनि नियमित सबै चलचित्र देखाउन सकिएको छैन । अहिलेसम्म व्यक्तिगत रुपमा विदेशमा चलचित्र प्रदर्शन भएपनि अब भने राज्यले त्यसमा पहल गरि सरकारी स्तरबाटै चलचित्र चलाउने तयारी गर्ने अध्यक्ष भट्टराईको महत्वकांक्षी योजना छ ।
नेपाल सरकारले मध्यपहाडी लोकमार्गले छुने जक्सनहरुलाई स्मार्ट सिटीको रुपमा विकास गर्दैछ । ति जक्सनहरुमा थोरै लगानी र सुविधासम्पन्न हल खोल्न प्रेरित गर्ने र त्यो क्षेत्रबाट बन्ने स्थानिय भाषाका चलचित्रलाई त्यो स्थानसँगै समग्र देशैभरी प्रदर्शनका लागी सहयोग गर्ने समेत उनले बताए । लामो समयदेखी चलचित्र क्षेत्रमा बिताएकाहरुको अवसान हुँदा विकास बोर्डले १०–१५ हजार दिने र चलचित्रकर्मीले पैसा उठाएर दिने जुन सोच छ त्यो रोकेर विकास वोर्डले राहत योजना लागु गर्ने योजना सुनाए । चलचित्र निर्माणको क्रममा सुटिङको लागी काठमाडौं उपत्यकामा घर पाउन गाह्रो छ । सोहि कुरालाई मध्यनजर गरेर अत्याधुनिक सुबिधासम्पन्न इन्डोर स्टुडियो खोल्ने योजना समेत उनले सुनाए । ‘यस विषयमा मन्त्रीसँग पनि छलफल भैसकेको छ, यो काम चाँडै सम्पन्न हुने मेरो अपेक्षा छ ।’ उनले थपे ।
नेपाली चलचित्रका हक र हितका लागी काम गर्दैगर्दा कसैबाट डिस्टर्व भयो भने सम्बन्धित संघसंस्था र व्यक्तिसँग भेटघाट गर्ने, सम्झाउने र यदि भएन भने कानुनी प्रावधानहित कडा रुपमा अगाडी बढ्ने भट्टराईको अडान छ । चलचित्र निर्माताबाट पारिश्रमिक नपाएको गुनासो समेत आइरहेकाले अबका दिनमा कसैले पारिश्रमिक नपाएको खण्डमा सम्बन्धित चलचित्रको सेन्सर हुनुअगाडी विकासबोर्डमा गुनासो आयो भने सेन्सर नै रोकिदिने नवनियुक्त भट्टराईले बताए । यद्यपी आफुसँग सम्वन्धित संस्थामार्फत उजुरी गर्न उनले आग्रह गरे ।
नेपाली चलचित्र हलमा हलिउड र बलिउडले राज गर्दै आएको छ । यसलाई रोक्न मिल्दैन । तर सभ्य तरिकाले विदेशका चलचित्रभन्दा धेरै नेपाली चलचित्र कसरी लगाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्ने उनको भनाई छ । ‘हामी विदेशी चलचित्रसँग डराएर स्वदेशी चलचित्रको मिति सार्ने गरेका छौं’, उनले भने, ‘हामीले आफ्नो चलचित्र राम्रो गराउने हो भने कसैसँग डराउनुपर्दैन ।’ यद्यपी विदेशी चलचित्रको नेपाल प्रदर्शनको कुरा चलचित्र नितिमा समेटिएकाले यो कार्यान्वयनमा आएपछि समाधान हुने उनको भनाई छ । चलचित्र क्षेत्रलाई व्यवस्थित गराउनका लागी निरन्तर अनुगमन गर्ने समेत उनले बताए ।
दोलखामा बन्न लागेको फिल्म सिटि निर्माणको कुराले आफू एकदमै क्रियाशिल रुपमा लाग्ने अध्यक्ष भट्टराईको मनसाय छ । केहि दिनमा सुरु हुन लागेको लगानी सम्मेलनमा सरकारले उक्त परियोजनालाई उच्च प्राथमिकतामा राखेको छ । यो सफल भयो भने भट्टराईको कार्यकाल अझ सम्झनलायक रहनेछ । त्यसका लागी भने अझै केही समय कुर्नुपर्नेछ ।