साप्ताहिक संवाददाता
महिला टेनिस खेलाडीलाई संसारकै सबैभन्दा ग्ल्यामरस खेलाडी मानिन्छ । महिला खेलाडीहरूले लगाउने पहिरन तथा उनीहरूको सुन्दरताका कारण यो खेल आफैमा ग्ल्यामरस मानिन्छ । अझ त्यसमा पनि अग्ला खेलाडी भए भने उनीहरू थप सुन्दर देखिन्छन् । महत्वपूर्ण तथ्य के छ भने धेरैजसो प्रतियोगितामा अग्ला महिला टेनिस खेलाडीहरू नै सफल भएको पाइन्छ । उनीहरूको उचाइ सामान्यतः ६ फिटभन्दा माथि हुन्छ । मारिया सारापोभा देखि भेनस विलियम्सका साथै अन्य महिला टेनिस खेलाडीहरूको उचाइ ६ फिटभन्दा बढी नै छ ।
मारिया सारापोभा
टेनिस खेलमा सबैभन्दा चर्चित महिला खेलाडी मारिया सारापोभालाई मानिन्छ । रुसकी यी खेलाडीको उचाइ पनि सबै महिला टेनिस खेलाडीहरूमध्ये शीर्ष स्थानमा छ । सारापोभा ६ दशमलव २ फिट अग्ली छिन् । उनी ब्रिटिश व्यापारी अलेक्जेन्डर गिलक्ससँग डेटिङमा रमाइरहेकी छिन् । एक वर्षयता उनको प्रदर्शन त्यति राम्रो नभए पनि उनी आफ्नो उचाइ, फिटनेस अनि सुन्दरताका कारण सबैको नजरमा परिरहेकी छिन् ।
एना इभानोभिक
२००८ को फ्रेन्च ओपनमा दिनारा सफिनालाई हराएर विश्व नम्बर एक भएकी थिइन् एना इभानोभिक । ६ फिट अग्ली यी सर्वियाली खेलाडी आफ्नो उचाइ एवं सुन्दरताका कारण सधैं चर्चामा रहन्छिन् । एनाले जर्मन फुटबलर बास्टियन स्वाइन्स्टाइगरसँग विवाह गरेर छोरासमेत जन्माएकी छिन् ।
दिनारा सफिना
रुसी खेलाडी दिनारा सफिना पूर्व विश्व नम्बर एक महिला टेनिस खेलाडी हुन् । ६ दशमलव १ फिट अग्ली सफिनालाई २०११ मा पिठ्युँमा चोट लागेको थियो । त्यसपछि उनले २०१४ मा टेनिसबाटै संन्यास लिइन् । सन् २००८ को ओलम्पिकमा उनले रजत पदक जितेकी थिइन् ।
निकोल भेडिसोभा
६ फिट अग्ली चेक खेलाडी निकोलले २०१० मा खेल जीवनबाट संन्यास लिएकी थिइन् । यद्यपि निकोलले २०१४ मा फेरि खेल जीवनमा फर्केर पुनः २०१६ मा संन्यास लिइन् । निकोल पनि आफ्नो सुन्दरता र उचाइका कारण सधै चर्चामा रहिन् ।