साप्ताहिक संवाददाता
राजु लामा, गायक
मंगोलियन हार्टको २५ वर्षे सेलिब्रेसन कस्तो भैरहेको छ ?
हाम्रो ब्यान्ड स्थापना भएको २५ वर्षको उपलक्ष्यमा हामीले यो वर्ष विभिन्न २५ ठाउँमा लाइभ कन्सर्ट गर्ने घोषणा गरेका थियौं । त्यसमध्ये १४ वटा कन्सर्ट भैसक्यो, अब ११ वटा बाँकी छ ।
पछिल्ला कन्सर्टहरू कहाँ–कहाँ गर्नुभयो ?
पूर्वी नेपालको बिर्तामोड तथा दमक हुँदै सुनसरीको इनरुवा, चितवनको पर्सा, काभ्रेको तिमालसहित काठमाडौं र पोखरामा हामीले प्रस्तुत गरेको लाइभ कन्सर्ट सफलतापूर्वक सम्पन्न भयो । यही अवधिमा हामीले दुबई र आबुधाबीमा समेत आफूलाई प्रस्तुत गरिसकेका छौं ।
लामो ग्यापपछि नेपालको गाउँ–सहरको सांगीतिक यात्रा कस्तो रह्यो ?
काठमाडौं र पोखरामा त हामी प्रायः प्रस्तुत भैरहेकै थियौं । यसपटक हामीले काठमाडौं बाहिर फोकस गरेका थियौं । काठमाडौं बाहिरका कन्सर्टमा दर्शकहरूको उत्साहजनक सहभागिताले हामीलाई नयाँ उत्साह प्रदान गरेको छ ।
दर्शकको प्रतिक्रिया कस्तो पाउनुभयो ?
स–साना बालबालिकादेखि १ सय १ वर्षीया जिजु आमा पनि हाम्रा दर्शक बन्नुभएको छ । उहाँहरूले हाम्रा पुराना गीतहरू पनि धेरै नै मन पराउनु भएको छ । नयाँ पुस्ताका दर्शकहरूलाई भने हाम्रा नयाँ गीत बढी मन परेको छ ।
पछिल्लो एल्बमका गीतहरू कत्तिको लोकप्रिय भए ?
हामीले केही महिनाअघि मंगोलियन हार्ट्स–७ सार्वजनिक गरेका थियौं । उक्त एल्बमको सैलुङ पोङ्दी शीर्षकको गीतको भिडियो भर्खरै सार्वजनिक भएको छ । यसबाहेक एक जोडी नयन, घर मेरो पूर्वजस्ता गीत स्रोताले मन पराउनुभएको छ ।
यतिबेला ब्याण्डमा कति जना संगीतकर्मी हुनुहुन्छ ?
हामी अहिले ७ जना छौं । म स्वयं गायकका रूपमा छु । किरण नगरकोटी, पवन कपाली तथा बबी लामा गिटारिष्ट हुनुहुन्छ । विनय महर्जन (बाँसुरी), बाबुराजा महर्जन (मादल) तथा सन्तोष थापा (ड्रमर) हुनुहुन्छ ।
ब्यान्डका आगामी कार्यक्रमहरू के–के छन् ?
नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै नयाँ स्थानहरूमा कन्सर्टको तयारी हुँदैछ । ती कन्सर्टका लागि हामी काठमाडौं बाहिर नै जाने तयारीमा छौं । यसका साथै केही दिनमै हामी जूनझैं मुहार...को भिडियो सार्वजनिक गर्दैछौं ।