साप्ताहिक संवाददाता
युवा ज्योतिषी हरिहर अधिकारी अभिनित चलचित्र शुभ लभ आज शुक्रबार प्रदर्शनमा आएको छ । सन्तोष बाबु लोहनीद्वारा निर्देशित यो चलचित्रमा प्रेमकथालाई सशक्त ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् ।
चलचित्र शुभ लभमा धर्मराज सुवेदीको लगानी छ । यो चलचित्रमा नायक अधिकारी तथा कृष्टिन पौडेलका अतिरिक्त सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रवीन्द्र झा, प्रदीप बास्तोला आदि कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको कथा अभिनेता हरिहर स्वयंको हो भने अभिमन्यु निरवीले यसको पटकथा तथा संवाद तयार गरेका हुन् । चलचित्रमा शुभ लभ र टुक्रियो एउटा सपना गरी दुईवटा गीत समावेश गरिएका छन् । अर्जुन पोखरेलद्वारा संगीतबद्ध यो चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् ।
पोखरा, म्याग्दी, लुम्बिनी, भैरहवा, कालिन्चोक तथा काठमाडौंका विभिन्न स्थानका दृश्य समेटिएको शुभ लाभमा रामजी लामिछानेको कोरियोग्राफी, विक्रम भट्टराईको द्वन्द्व तथा बनिष शाह एवं भुपेन्द्र अधिकारीको सम्पादन हेर्न पाइन्छ ।