साप्ताहिक संवाददाता
गत शुत्रबार प्रदर्शनमा आएको चलचित्र ‘कागजपत्र’ ले उठाएको विषयलाई दर्शकले मन पराए । समाजमा देखा परेको जसरी भए पनि विदेश जानै पर्ने मोहलाई मुख्य विषय बनाएर निर्देशक अपिल विष्टले हल्का हास्य शैलीमा निर्माण गरेका हुन् यो चलचित्र । चलचित्रमा एकातिर पैसा कमाउन विदेश जानै पर्ने एउटा अधवैंशे पुरुषको बाध्यता चित्रण गरिएको छ भने अर्कातिर स्टुडेन्ट भिसामा अष्ट्रेलिया जान तयार युवती आर्थिक अभावका कारण कसरी ती अधवैंशे पुरुषसँग कागजी विवाह गरेर त्यता जाने प्रयास गर्छिन् भन्ने सन्दर्भ उनिएको छ ।
निर्देशक विष्टकै पटकथामा आधारित यो चलचित्रका मुख्य पात्र हुन्– हुलाक कार्यालयका पियन राजकुमार, जसलाई भोलाराज सापकोटाले निर्वाह गरेका छन् । सोझा तथा इमान्दार यी सरकारी जागिरेलाई दुई छोरा–छोरी पढाउँदै घर खर्च चलाउन धौ–धौ छ । उनी स्वयं आफ्नो दैनिकीसँग सन्तुष्ट भए पनि उनकी श्रीमती देवी (सरिता गिरी) लाई भने श्रीमान्को सिमित आयमा जीवन गुजार्न मन छैन । उनी श्रीमान्लाई विदेश जान दबाब दिँदै छिमेकी सरह धनी बन्न चाहन्छिन् । धेरै खर्च गरेर राम्रा मुलुक जाने हैसियत नभएका राजकुमार खाडी गएर मजदुरीसमेत गर्न सक्दैनन् ।
राजकुमारकी २० वर्षीया साली बुनु (शिल्पा मास्के) नर्सिङमा स्नातक भएकाले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहन्छिन्, तर उनको परिवारले छोरीलाई विदेश पठाउनुभन्दा देशमै सरकारी जागिर खान प्रेरित गर्छ । विदेश गए पनि उनलाई प्रेमी केशव (नाजिर हुसैन) लाई धोका दिन मन छैन । कन्सल्टेन्सीले बुनुलाई नक्कली विवाह गरेर डिपेन्डेन्ट भिसामा विदेश जाने जुक्ति सुझाउँछ । घर–परिवारमा सल्लाह गरेपछि साली–भेना नै कागजी विवाह गरेर अष्ट्रेलिया जाने निर्णयमा पुग्छन् । यद्यपि, डिभोर्स गर्नेदेखि समाजले थाहा नपाउने गरी सबै काम गर्नु राजकुमार र बुनु दुवैका लागि कम चुनौतीपूर्ण छैन । नेपालको मध्यमवर्गका मानिसहरूले छोटो समयमै धनी बन्न चाहने आफ्नो महत्वाकांक्षा पूरा गर्ने क्रममा आइपर्ने बाधा–व्यवधानलाई यो चलचित्रले रोचक शैलीमा चित्रण गरेको छ ।
१ घण्टा ४५ मिनेट लामो यो चलचित्रमा मध्यान्तरअघिका दृश्य रोचक छन् । यद्यपि, चलचित्रका मुख्य पात्रले बोल्ने दुईअर्थी संवादले चलचित्रलाई केही भद्दा बनाएको छ । दर्शर्क हँसाउन राखिएका त्यस्ता दृष्यले परिवारका सबै सदस्यसहित चलचित्र हेर्न गाह्रो पर्छ ।
चलचित्रका मुख्य पात्रहरूको छनोट तथा उनीहरूको अभिनय अब्बल छ । राजकुमारको भूमिकामा प्रस्तुत भएका भोलाराज सापकोटाको अभिनय प्रशंसनीय छ । यसअघि प्रायः छोटा भूमिकामा प्रस्तुत हुने भोलालाई यो चलचित्रमा मुख्य भूमिकामै प्रस्तुत गरेर निर्देशकले ठूलै चुनौती मोलेका छन् भने भोलाराजले भने आफूलाई दिइएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरेका छन् । श्रीमतीको भूमिकामा सरिता गिरीले सटिक अभिनय गरेकी छिन् । नाजिर र शिल्पा पनि प्रेमि–प्रेमिकाको भूमिकामा जमेका छन् । यो चलचित्रको छायांकन पनि सवल छ ।
यति हुँदाहुँदै पनि चलचित्रको व्यवसायिक पक्ष भने कमजोर छ । प्रदर्शनमा आइरहेका ठूला बजेटका चलचित्रले समेत राम्रो बजार पाउन नसकिरहेको बेला कागजपत्रले पनि त्यसको मार खेपेको छ । मल्टिप्लेक्समा समेत चलचित्र हेर्ने दर्शकको खडेरी यो चलचित्रले समेत व्यहोर्नु परेको छ । कथा, प्रस्तुति, निर्माण सबै कुरामा अब्बल हुँदा–हुँदै पनि यो चलचित्रले लगानी उठाउन गाह्रै छ ।
सार्वजनिक प्रदर्शन प्रारम्भ हुनुभन्दा एक दिनअघि गरिएको प्रिमियर शोमा चलचित्र हेरेका अधिकांश चलचित्रकर्मीले सकारात्मक प्रतिक्रिया दिएका थिए । यद्यपि समिक्षकहरूले भने चलचित्रमा दुईअर्थी शब्दको प्रयोग अलि बढि नै भएको बताए । यो चलचित्र करिब डेढ करोड रुपैयाँमा निर्माण गरिएको हो ।