चैत्र १६, २०७५
विवाह भएको दुई वर्षपछि एउटी छोरी जन्मिनासाथ मरेको आफ्नो लोग्नेको फोटो अजिताले सिरानमाथिको भित्तामा सजाएर राखेकी थिई । जब आफ्नो लोग्नेको सम्झना आउँथ्यो, ऊ त्यही सिरानको फोटो हेरेर धेरै बेरसम्म आँसु झार्थी । थाकेपछि मन बुझाउँदै कोठाबाट बाहिर निस्कन्थी । काममा जान्थी, आउँथी र फेरि त्यही फोटो हेर्दै आँसु पुछ्थी ।
सम्झनामा आइरहने र मन पिरोलिरहने भएकाले उसले त्यो फोटो त्यहाँबाट झिकेर अन्तै राख्न पनि सकिन । चाहेको बेला हेर्न सजिलो होस् भनेर उसले त्यसो गरेकी थिई ।
एक दिन अजितालाई फेरि छोरीले भुल्नै लगेको द्वन्द्वको घाउ कोट्याउँदै आँखाभरि आँसु पारेर सोधी— मामु, हाम्रो बाबा अब कहिल्यै आउनुहुन्न ? अजिताले भित्ताको तस्बिर हेरिरही । तस्बिरले पनि उनीहरूलाई एकटकले हेरिरहेजस्तो लाग्यो । उनीहरू दुवैका आँखाबाट आँसु झरिरहेका थिए ।