साप्ताहिक संवाददाता
मोबाइल म्यासेजिङ सेवामार्फत सूचना प्रवाह गर्दै आएको स्प्यारो एसएमएस गत आइतबारदेखि नौ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले डेढ करोडभन्दा बढी प्रयोगकर्तालाई एसएमएस सेवा प्रदान गरेको जनाएको छ ।
हाल १ हजार ८ सयभन्दा बढी संस्था तथा कम्पनीले स्प्यारो एसएमएसको बल्क एसएमएस अर्थात एकै पटक धेरैलाई एसएमएस पठाउने सुविधा लिएर सेवा प्रदान गरिरहेका छन् ।
स्प्यारो एसएमएसको सुरुवात जानकी टेक्नोलोजीले गरेको हो । जानकी टेक्नोलोजीले यसरी एकै पटक धेरैलाई मोबाइल सन्देश पठाउने सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २०१० मा स्प्यारो एसएमएस सेवा सुरु गरेको थियो । अझै पनि इमेल तथा इन्टरनेटको पहुँच सहज नभएको हाम्रो मुलुकमा एसएमएस सेवा सन्देश प्रवाह गर्ने एउटा सहज माध्यम भएको छ ।
स्प्यारो एसएमएसले नेपालका विभिन्न सरकारी संस्था, स्थानीय सरकार, बैंक एवं वित्तीय संस्था, विद्यालय तथा कलेजहरूका साथै विभिन्न प्रसिद्ध ब्रान्डहरूका लागि एसएमएस सेवा प्रदान गर्दै आएको छ ।
स्प्यारोले मोवाइलमा सन्देश पठाएर तरकारीको होलसेल र रिटेल मूल्य, वैदेशिक रोजगारीमा आफ्नो अनुमति पत्रसम्बन्धी सूचना, विभिन्न परीक्षाको परिणाम आदि जानकारी उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले केही महिनाअघि मात्र यातायात व्यवस्था विभागसँग सहकार्य गरी सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा एवं लाइसेन्स प्रिन्ट भए नभएको कुरा एसएमएसबाटै हेर्न सकिने सेवा प्रारम्भ गरेको थियो ।