साप्ताहिक संवाददाता
नेपाली चलचित्रलाई प्रत्येक साता आफ्नै देशका चलचित्रसँग जुध्नु परेको पीडा त छँदैछ भने हलिउड–बलिउडका ठूला बजेट तथा ब्यानरका चलचित्रसँग जुध्नु पर्ने अर्को बाध्यतात्मक अवस्था पनि छ । त्यसैले विदेशका राम्रा चलचित्र प्रदर्शन हुने साता ठूला नेपाली चलचित्र प्रदर्शनमा आउँदैनन् । प्रदर्शन मिति तय गरिसकेका ठूला ब्यानरका चलचिक्रसमेत विदेशी चलचित्रको डरले ब्याक हुने त्रम बढेको छ ।
यतिबेला दुई ठूला चलचित्र दाल भात तरकारी तथा जात्रै जात्राले विदेशी चलचित्रको डरकै कारण आफ्नो प्रदर्शन मिति परिवर्तन गरे । वैशाख १३ गते प्रदर्शनमा आउने भनिएको ‘दाल भात तरकारी’ सोही दिन प्रदर्शन हुने हलिउड चलचित्र ‘एभेन्जरः इन्ड गेम’ का कारण एक सातापछि सरेको छ । अब यो चलचित्र वैशाख २० मा मात्र दर्शकमाझ आउनेछ ।
दाल भात तरकारी एक सातापछि सरेपछि चलचित्र जात्रै जात्रा पनि पूर्व निर्धारित वैशाख २७ को मिति परिवर्तन गर्दै जेठ ३ गते प्रदर्शन हुने भएको छ । वैशाख २७ मा बलिउडको ‘स्टुडेन्ट अफ द इयर–२’ सार्वजनिक हुने निश्चित भएपछि जात्रै जात्रापछि सरेको अनुमान गर्न गाह्रो पर्दैन । जात्रै जात्रालाई जेठ ३ मा पनि सुख छैन, किनभने ऊक्त मितिमा चलचित्र वीरवित्रम–२ प्रदर्शन हुने निश्चित भैसकेको छ ।