साप्ताहिक संवाददाता
केशव भट्टराई, अध्यक्ष, चलचित्र विकास बोर्ड
चलचित्र विकास बोर्डको अध्यक्षका रूपमा तपाईंको पहिलो प्रतिबद्धता के हो ?
चलचित्र क्षेत्रको हितका लागि सकेको काम गर्ने तर अहितमा कुनै पनि काम नगर्ने ।
विकास बोर्ड सधैं राजनीतिमा रुमलिँदै आएको छ । यसको विगतको काम त्यति सन्तोषजनक छैन नि ?
विगतमा के कस्तो काम भए, त्यो मलाई थाहा छैन । म यहाँ रहने भनेको कुनै राजनीतिक दलको कार्यकर्ताका रूपमा होइन । म बिसुद्ध चलचिक्र र चलचित्रकर्मीका लागि काम गर्न यहाँ आएको हुँ ।
केही नयाँ कार्यत्रम त तय गर्नुभएको होला नि ?
चलचित्र क्षेत्रको हितका लागि मैले केही ठोस योजनाहरू बनाएको हुँ, यद्यपि कार्यालयको पहिलो दिन नै म ती कार्यक्रम घोषणा गर्न चाहन्न ।
सरकारलाई बुझाउनु भएको योजनामा के छ ?
मैले सरकारलाई १६ बुँदामा महत्वाकांक्षी योजना बुझाएको छु । त्यसबाहेक म राष्ट्रिय चलचित्र नीति–२०७१ पारित गर्न सक्दो प्रयास गर्नेछु ।
अलपत्र परेको बक्स अफिसका बारेमा यहाँको धारणा के छ ?
हामी चाँडै बक्स अफिसलाई कार्यान्वयन गराउँछौं ।
विदेशी चलचित्रले नेपाली चलचित्रमाथि गर्दै आएको थिचोमिचोलाई कसरी सम्बोधन गर्नु हुन्छ ?
विदेशी चलचित्रमाथि सकारात्मक हस्तक्षेप गर्नुपर्ने आवश्यकता देखेको छु । शुक्रबारबाहेक अन्य दिन विदेशी चलचित्र प्रदर्शन गर्न नपाइने नियम कडाइका साथ लागू गराउनेछु ।
तपाईंको नियुक्तिलाई राजनैतिक मान्ने कि गैर राजनैतिक ?
म कुनै राजनीतिक कार्यकर्ताका रूपमा यहाँ आएको होइन । म बिसुद्ध चलचित्रकर्मी हुँ । बोर्डको अध्यक्षका रूपमा मैले कुनै पनि संघ–संस्थामाथि अनावश्यक हस्तक्षेप गर्ने छैन ।