साप्ताहिक संवाददाता
नेपाली महिला राष्ट्रिय टिमकी स्टार सावित्रा भण्डारी गोलपछि खुसी मनाउन क्रिस्टियानो रोनाल्डोको शैली पछ्याउँछिन् । किनभने सावित्रालाई सबैभन्दा मन पर्ने खेलाडी रोनाल्डो नै हुन् । रमाइलो कुरा के भने नेपाली महिला राष्ट्रिय टिमका अधिकांश सदस्य रोनाल्डोकै फ्यान छन् । नेपाल र भारतबीच भएको वुमेन्स साफ च्याम्पियनसिप फाइनलअघि टिमका सबै २० सदस्यसँग हामीले सोधेका थियौं, तपाईंलाई सबैभन्दा मन पर्ने खेलाडी को हो ?
उत्तरमा सावित्रासँगै अनिता केसी, एन्जिला सुब्बा, सारु लिम्बू, रेनुका नगरकोटी, शर्मिला थापा, मन्जली योञ्जन, गीता राणा, निरु थापा, उशा नाथ, दीपा राई, कविता धिमाल, अमृता जैसी, पूजा राना, अन्जना रानामगर तथा रेखा पौडल सबै रोनाल्डोका फ्यान निस्किए अर्थात् १६ जना खेलाडी । रोनाल्डो विश्वभर नै महिलाहरूमाझ बढी लोकप्रिय छन् । बाँकी अरू खेलाडीमा अनिता बस्नेत, मनमाया लिम्बू र पूनम जर्घामगरलाई मन पर्ने खेलाडी हुन्— अर्जेन्टिनाका लियोनल मेसी ।
सबैलाई थाहा छ, रोनाल्डो र मेसी प्रतिद्वन्द्वी खेलाडी हुन् । हिरा भुजेल भने मार्सेलोकी प्रशंसक हुन् । राष्ट्रिय टिमको कुरा गर्दा ११ खेलाडी पोर्चुगलकै समर्थक छन् र यसको कारण पनि स्पष्ट छ, रोनाल्डो उक्त टिमका कप्तान हुन् । त्यसपछि पाँच खेलाडी ब्राजिलका समर्थक छन् । त्यसमा सावित्रा पनि पर्छिन्, त्यसैले उनले आफ्नो नाममै साम्बा पनि जोडेकी छिन् । मेसीलाई मन पराउने सबै अर्जेन्टिनाकै समर्थक छन् । दीपा राई मात्र प्रिय टिमका रूपमा स्पेनलाई रोज्छिन् ।