साप्ताहिक संवाददाता
अप्रिल १ मा सामान्य मानिसले मात्र होइन, मिडियाले समेत मानिसलाई मूर्ख बनाउने सामग्रीहरू प्रसारण गर्छन् । विगतमा बीबीसीले अप्रिल फूल बनाउन गरेका पाँच गतिविधि :
पेन्गुइन पनि उड्यो
अप्रिल १, २००८ मा बीबीसीले अन्टार्टिकामा सुटिङ गरिरहेको
आफ्नो टिमले अनौठो दृश्य खिचेको दावी गर्यो । बीबीसीले आफ्नो समाचारसँगै एउटा भिडियो क्लिपसमेत प्रसारण गरेको थियो जसमा पेन्गुइन उडिरहेको देखाइएको थियो । उक्त भिडियो तत्कालै इन्टरनेटमा धेरै हेरिएको भिडियो बन्न पुग्यो । उक्त समाचारमा प्रस्तोता टेरी जोन्सले पेन्गुइनहरू जाडो छल्न उडेर दक्षिण अमेरिका पुग्ने बताएका थिए । पछि बीबीसीले फलो अप भिडियो राखेर पेन्गुइन उडेको भिडियो बनाउन कसरी स्पेशल इफेक्ट प्रयोग गरिएको थियो भन्ने कुराको सविस्तार वर्णन गर्यो ।
गुरुत्वाकर्षणमा कमि आउँदा
अप्रिल १, १९७६ को एकाबिहानै बीबीसी रेडियो–२ मा बेलायती खगोलविद् प्याट्रिक मूरको अन्तर्वार्ता बज्यो, जसमा भनिएको थियो— आज बिहान ठ्याक्कै ९ बजेर ४७ मिनेटमा वृहस्पतिको पछाडि यम ग्रह गुज्रँदा पृथ्वीको गुरुत्वाकर्षण शक्ति केही कम हुनेछ । मूरले श्रोताहरूलाई यो समयमा हावामा उफ्रँदा उडेको जस्तो अनुभव हुने बताएका थिए । ९ बजेर ४७ मिनेट भैसकेपछि रेडियो स्टेसनमा सयौँ श्रोताको फोन आउन थाल्यो । तीमध्ये धेरैले आफूले त्यस्तो अनुभूति गरेको दावीसमेत गरे । खासमा त्यो रेडियोका श्रोताहरूलाई अप्रिल फूल बनाइएको थियो ।
टेलिभिजनले सुगन्ध छरेपछि
अप्रिल १, १९६५ मा बीबीसी टेलिजिभनले लन्डन विश्वविद्यालयका एक प्रोफेसरसँगको अन्तर्वार्ता प्रसारण गर्यो जसले स्मेलोभिजन प्रविधिको आविस्कार गरेका थिए । उक्त प्रविधिले दर्शकहरूलाई टेलिभिजन स्टुडियोमा उत्पादन गरिएको सुगन्ध उनीहरूको घरसम्म पुर्याउन सकिने दावी गरिएको थियो । प्रोफेसरले उनको मेसिनको माध्यमबाट सुगन्धलाई कसरी दर्शकको टेलिभिजनसम्म पुर्याउन सकिन्छ भन्ने बयान गरेका थिए । उनले कफीको केही बियाँ र प्याजलाई आफ्नो स्मेलोभिजन मेसिनमा राखेर देखाएका थिए अनि दर्शकलाई केही सुगन्ध महसुस भए–नभएको बताउन आग्रहसमेत गरेका थिए, जसको उत्तरमा देशभरका कैयौँ दर्शकले फोन गरेर आफूहरूले फरक गन्ध महसूस गरेको बताए । अझ केहीले त प्याजको गन्धका कारण आँसु आएको सम्म भन्न भ्याए ।
डिजिटल भयो बिग बेन
अप्रिल १, १९८० मा बीबीसीको ओभरसिज न्युज सर्भिसले लन्डनको बिग बेन घण्टाघरलाई समयानुकूल बनाउन डिजिटल डिस्प्ले राखिने समाचार प्रसारण गर्यो । त्यो समाचारसँगै श्रोताहरूको संस्मरण पनि प्रसारण गरियो, जसमा उनीहरूले भावुक भएर विश्वप्रसिद्ध घण्टाघरको घडीका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए । समाचारमा फोन गर्ने पहिलो चार जनाले त्यो घडी प्राप्त गर्ने बताइएको थियो । रमाइलोका लागि तयार पारिएको ऊक्त कार्यत्रममा आक्रोशित श्रोताहरूको फोनको बाढी आउन थाल्यो । त्यही समाचारको सन्दर्भमा बीबीसीले श्रोताहरूसँग माफीसमेत माग्नुपरेको थियो ।
न्युज रुमकी वार रुम
अप्रिल १, १९८९ मा बीबीसीको स्पोर्ट्स सो ग्रान्डस्ट्यान्डमा अचम्मको दृश्य देखाइयो । प्रस्तोता डेसमन्ड लिनामले कुन कार्यक्रम कभर गर्ने भन्ने ब्रिफिङ गरिरहेका बेला न्युजरुमका कर्मचारीहरूबीच झगडा हुन थाल्यो । झगडा चर्कंदै जाँदासमेत प्रस्तोता शान्त भएर समाचार पढ्दै ‘हामी हाम्रो व्यवसायिक टिमको सहायताले खेलको सक्दो कभरज गर्छौं’ झनिरहेका थिए । कार्यक्रमकै त्रममा उनले आफ्नो पछाडि घटेका झगडासम्बन्धी दृश्यका लागि क्षमा पनि मागे, तर जब स्लो मोसनमा उक्त झगडाको दृश्य देखाइयो तब थाहा भयो कि त्यो त अप्रिल फूलसम्बन्धी सामग्री पो रहेछ । किनभने समाचारकक्षमा झगडा गर्नेहरूले त्यतिबेला अप्रिल फूल लेखिएको ब्यानर बोकेका थिए ।