जसिता गुरुङ, अभिनेत्री
पहिलो चलचित्र ‘लिलिबिली’ बाटै रजतपटमा स्थापित हुन सफल अभिनेत्री जस्सीता गुरुङ यतिबेला आफ्नो दोस्रो चलचित्र ‘लभ स्टेसन’ को प्रदर्शनको प्रतीक्षामा छिन् । दुई सातापछि प्रदर्शनमा आउने उक्त चलचित्रमा जस्सीताले चकलेटी अभिनेता प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गरेकी छिन् । पहिलो चलचित्रमा पनि उनी प्रदीपकै जोडीका रूपमा प्रस्तुत भएकी थिइन् । भन्नेहरू त जस्सिता र प्रदीप प्रेममै छन् समेत भनिरहेका छन्, यद्यपि दुवैले उक्त कुराको खण्डन गरेका छन् । साप्ताहिकमार्फत आफm्ना सेक्रेट कुरा सार्वजनिक गर्ने त्रममा समेत जस्सीताले प्रदीपलाई ‘असल साथी’ बताइन् । लामो समयदेखि बेलायतमा बसोबास गरिरहेकी यी अभिनेत्री अचेल काठमाडौंमै बसोबास गर्न थालेकी छिन् । बोलिरहने स्वभावकी जसीताका केही सेक्रेट यस्ता छन् :
दुई दिन व्रत
म धार्मिक स्वभावकी छु भन्ने कुरा धेरैलाई थाहा छैन । मलाई भगवानप्रति असाध्यै विश्वास छ । म भगवान शिव तथा साईबाबाको भक्त हुँ । म करिब चार वर्षदेखि प्रत्येक सोमबार तथा बिहीबार भगवान शिव तथा साईबाबाको ब्रत समेत बसिरहेकी छु । नियमित ब्रत बस्नु धार्मिक दृष्टिकोणले त राम्रो मानिन्छ नै, स्वास्थ्यका दृष्टिकोणले समेत यो फाइदाजनक छ ।
खन्चुवा
खानेकुरालाई म आफ्नो कमजोरी मान्छु । म मिठो खानेकुरा देखेपछि आफूलाई कन्ट्रोल गर्न सक्दिनँ । हप्ताको दुई दिन व्रत लिनुपर्ने एउटा कारण यो पनि हो । मलाई चटपटे खानेकुरा असाध्यै मनपर्छ । पानीपुरी मेरो बेस्ट फूड हो । त्यसबाहेक चटपटे तथा डल्ले खुर्सानीको अचार पनि उत्तिकै मन पर्छ ।
हरर चलचित्र
मानिसहरू फुर्सदमा रोमान्टिक चलचित्र हेर्न रुचाउँछन् । मलाई भने हरर चलचित्र हेर्न मन लाग्छ । मैले हालसम्म एक सयभन्दा बढी हरर चलचित्र हेरेकी छु, त्यो पनि एक्लै बसेर । मलाई नेपाली भाषामा निर्माण हुने हरर चलचित्रमा भूत बनेर अभिनय गर्ने इच्छा छ, हेरौं कहिले पुरा हुन्छ ।
मेरो नाम
धेरैलाई मेरो वास्तविक नाम लेख्न आउँदैन । मेरो वास्तविक नाम जस्सिता हो अर्थात मेरो नाममा डबल एस छ । धेरैमा मेरो यो नाम कसरी रह्यो भन्ने जिज्ञासासमेत छ । वास्तवमा मैले यो नाम मेरा बुवा र आमाको नामबाट पाएकी हुँ । मेरो बुवाको नाम जसराम हो अनि आमाको सीता । उहाँहरूकै नामबाट मेरो नाम जस्सीता भएको हो ।
कट्रीना कैफ
म बलिउड अभिनेत्री कट्रीना कैफकी डाइ हार्ट फ्यान हुँ । चलचित्रमा आउनुभन्दा धेरै अघिदेखि मैले उनलाई फलो गर्दै आएकी छु । राम्रोसँग हिन्दीसमेत बोल्न नआउने समयमा बलिउडमा प्रवेश गरेर कठोर संघर्षपछि आज उनी त्यहाँकी सुपरस्टार भैसकेकी छिन् ।
डान्स
डान्स अर्थात् नृत्य मेरो नशा–नशामा छ भन्दा फरक पर्दैन । फुर्सदमा म प्रायः डान्स नै गरिरहेकी हुन्छु । म चलचित्रमा आउने प्रमुख कारण पनि नृत्य नै हो । सन् २०१७ मा बेलायतमा आयोजित डान्स अफ यूकेमा विजेता भएपछि नै निर्देशक मिलन चाम्सले मलाई चलचित्र लिलिबिलीका लागि प्रस्ताव राख्नु भएको थियो । म हरेक शैलीका नृत्यमा पारंगत छु ।
तौल
म कुनै बेला ६५ किलोकी थिएँ भन्दा कसैले पत्याउँदैनन् । हो, म कलेजमा छँदा निकै मोटी थिएँ । आफ्नो बढिरहेको तौलकै कारण म नृत्यतर्फ आकर्षित भएँ । नृत्य गर्न थालेपछि मैले खानपिनमा पनि ध्यान दिएँ । चलचित्रमा अनुबन्ध भएपछि मैले जिमसमेत गरें । कठोर मेहनतपछि आज म घटेर ५० किलोकी भएकी छु ।