साप्ताहिक संवाददाता
काम गरेको भए पो यस्तो लाग्यो भन्नु । यति लाज पचेका मेयर त मैले नेपालमै कहीँ देखेको छैन । अँ साँच्चै कतिवटा मोबाइलचाहिँ किने क्यारे !
दिनेश काफ्ले, कलाकार
केही काम गरेको भए पो मूल्यांकन गर्नु, कामै नगरेपछि के भनौं अब ?
राजु ढकाल, गायक
बजारमा हल्ला चलेजस्तो सबै नकारात्मक पनि होइन, अनि जनताले चाहेजस्तो सकारात्मक काम पनि हुन सकेको छैन । संघीयता कार्यान्वयनको चरणमा भएकाले पूर्ण रूपमा भने जति काम गर्न गाह्रो भए पनि जति गर्न सकिन्थ्यो त्यति काम पनि नभएकै हो ।
शिरीष देवकोटा, गायक
यसरी तुलना गर्नलाई मेयर सा’बले काम नै के पो गरेका छन् ? गफ मात्र गरेर हिँड्या छन् । गफले मात्र विकास–निर्माण सम्भव छैन ।
जीवन बराल, रंगकर्मी
यो प्रश्नले पो झसंग बनायो । काठमाडौं महानगरपालिकामा प्रमुख पनि छन् ?
ऋचा शर्मा, अभिनेत्री
मेयर साब’को गति कम भयो जस्तो लाग्यो । धरहरा र रानीपोखरी आफैं बनाउन सक्नुहुन्थ्यो । पुनः निर्माण प्राधिकरण आउँदा एक शब्द आफैं बनाउँछु भन्न सक्नुभएन । धूवाँ–धूलोबाट आक्रान्त सहरवासीलाई सहर स्वच्छ बनाउने कुरामा विश्वस्त तुल्याउन सक्नुभएको छैन । सार्वजनिक यातायातमा आवातजावत गर्न उस्तै सास्ती बेहोर्नुपर्छ । त्यसैले मेयर साबले के चाहिँ काम गर्नुभयो भनौं ? अब बाँकी समयमा यति मात्र काम गरिदिनु भए पनि नागरिकले लामो श्वास फेर्न पाउँथे । सडक पुननिर्माणका कामहरू भैरहेका छन्, तर त्यसको पनि गति बढाउन जरुरी छ ।
गम्भीर विष्ट, नृत्य निर्देशक
जादु गरे झैं चारैतिरको अस्त–व्यस्ततालाई एकैपटकमा समाधान गर्न सकिँदैन, तर मेयर साब काम गर्दै हुनुहुन्छ । यद्यपि ठूला कुरा गर्ने र गफ दिने चलनबाट उहाँ पनि अछुतो हुनुहुन्न ।
निर्मल शर्मा, अभिनेता
जति सोचिएको थियो त्यति काम गरे जस्तो लाग्दैन ।
आशिर प्रतापजंग, मोडल
जनताको काम नगरेर तलब भत्तामा मस्त, आफन्त आसेपासे, कार्यकर्ता एवं सल्लाहकारहरूको भुलभुलैयामै रमाउने महानगरपालिकाका मेयर मात्र होइन, देश हाँक्ने नेतृत्वमा बसेका सबैले जबसम्म ती पद छाड्दैनन् तबसम्म हामीले विकास, समृद्धि र सुशासन पाउँदैनौं । पुरातन सोच–विचार र काम गर्ने शैलीले हाम्रो देशको विकास कहिल्यै हुँदैन । कामनपाका मेयर विद्यासुन्दर शाक्यको काम त गौण कुरा हो ।
नवीन पौडेल, गायक
मुहार सुन्दर छ, लोभलाग्दो सम्मानित छ नाम । फिटिक्कै चित्तबुझ्दो छैन मेयरसाबको काम । पाँच मिनेट कलंकीमा उभ्याउन पाए आफैं भन्थे होला हरेराम–हरेराम ।
लोकराज अधिकारी, गीतकार
खासै केही गरेजस्तो लाग्दैन । उहाँ मेयर हुनभन्दा अघिको काठमाडौंको अवस्था र मेयर भैसकेपछिको अवस्था उस्तै देख्छु ।
टंक तिमल्सिना, गायक
खै आफू काठमाडौंको स्थायी बासिन्दा नभएर होला के–के काम भैरहेको छ थाहा पाइँदैन । धूलो उठाउने मेसिन आयो भन्ने सुनेको थिएँ त्यसको माध्यमबाट काठमाडौंको सडकमा उड्ने धूलो कम भएछ भने चाहिँ अलिकति काम गरेछन् भन्ने महसुस हुन्थ्यो कि ?
प्रकाश सपूत, गायक
दुःख लाग्छ । काठमाडौं महानगरपालिकाका मेयर सा’बले सबै क्षेत्रको काम अधुरो राखेको देख्दा ।
शिव विक, नृत्य निर्देशक
महानगरपालिकाका मेयर काममा भन्दा बढी कुरामा सक्रिय भए जस्तो लाग्छ । राजधानीको धूलो र ट्राफिक जाम नियन्त्रण हुन सकेको छैन ।
रामचन्द्र काफ्ले, गायक
अहिले नै केही भन्न सकिने अवस्था छैन । त्यसैले म यो प्रश्नको जवाफ एक वर्षपछि मात्र दिन्छु ।
बद्री पंगेनी, गायक
काठमाडौं महानगरपालिकामा पनि मेयर साब हुनुहुन्छ र ? यदि भएको भए त काम भैहाल्थ्यो होला नि । जता हेर्यो त्यतै भद्रगोल छ । काठमाडौं महानगरका मेयर साबका गफ ८५ प्रतिशत, काम १५ प्रतिशत ।
अजय लम्साल, मोडल