साप्ताहिक संवाददाता
मोडल तथा अभिनेत्री सोनिया जिआरको जीवनमा नसोचेको घटना घटेको छ । महिनौंको मेहनतपछि तयार भएको आफैंले अभिनय गरेको ‘सिउँदो...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै उनले आफ्ना सामाजिक सञ्जालका एकाउन्टहरू अप्रत्याशित ढंगले ह्याक भएको बताएकी छिन् ।
‘एकदेव लिम्बूको स्वरमा रेकर्ड भएको उक्त गीतको म्युजिक भिडियो यूट्युबमा अपलोड भएको केही घण्टापछि नै मेरो फेसबुक आईटी, मेरो आफ्नो संस्थाको फेसबुक पेज तथा याहूको इमेल आइडीसमेत ह्याक भएको छ, सोनियाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएकै दिन आफ्नो सामाजिक सञ्जालको एकाउन्ट ह्याक हुनु संयोगमात्र नभएको बताएकी छिन् ।’
यश कुमारद्वारा संगीतबद्ध उक्त गीत एक दशकअघि बाबु बोगटीको स्वरमा रेकर्ड भएको थियो भने केही महिनाअघि यश कुमार र बाबु बोगटीको सहमतिमै उक्त गीत एकदेव लिम्बुले रि–रेकर्ड गरेका थिए । यसबीच मोडल तथा अभिनेत्री सोनियाले केन्द्रिय अपराध अनुसन्धान ब्युरो, महाराजगन्जमा ‘आवश्यक अनुसन्धान गरी पाउँ’ भन्ने बेहोरोको आवेदन दिइसकेकी छिन् ।