साप्ताहिक संवाददाता
गत आइतबार वितरण गरिएको भारतको प्रतिष्ठित फिल्म फेयर अवार्ड समारोहमा एउटा अभूतपूर्व दृश्य देखियो । दृश्य थियो उत्कृष्ट अभिनेताका लागि पुरस्कृत रणवीर कपुरको उनका दुई भूतपूर्व गर्लफ्रेन्डसँगको जम्काभेट, त्यो पनि अहिलेकी गर्लफ्रेन्ड आलिया भट्टसँगै ।
समारोहमा उत्कृष्ट अभिनेत्रीका लागि पुरस्कृत भएकी आलिया रणवीर कपुरको हात समातेर बसेकी थिइन् । त्यही समयमा उनीहरूका सामु पहिले दीपिका पादुकोण बधाई दिने नाममा झुल्किइन् भने लगत्तै कटरिना कैफ पनि सोही बहानामा कपुर जोडीसमक्ष पुगिन् ।
त्यतिबेला अप्ठ्यारो स्थितिमा पुगेका रणवीर कपुरलाई सम्हाल्दै आलियाले दीपिका र कटरिनासँग खुलेर कुरा गरिन् । आलियासँगको कुराकानीका क्रममा दीपिकाले उनको गालामा चुम्मा गर्दै रणवीरलाई हातबाट चिप्लिन नदिन सुझावसमेत दिन भ्याइन् भने कटारिनाले सुखद भविष्यका लागि शुभकामना दिएकी थिइन् ।