साप्ताहिक संवाददाता
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सका अनुसार क्यान्सर भ्याक्सिन, ल्याबमा विकास गरिएको मासु, जीवन बचाउने ट्वाइलेट तथा वेयरेवल इलेक्ट्रोकार्डियोग्राम आदि प्रविधिले भविष्यमा हाम्रो जीवनलाई सहज बनाउँदै छन् । बिल गेट्सले एमआईटी टेक्नोलोजी रिभ्युको वार्षिक सम्मेलनमा आफ्नो प्रस्तुतिकरणका क्रममा यी कुरा बताएका हुन् । उनले सन् २०१९ मा विकास हुने १० नयाँ प्रविधिका बारेमा जानकारी दिएका छन् । बिल गेट्सका अनुसार ती १० प्रविधि यस्ता छन् :
ढल नचाहिने ट्वाइलेट
अब ट्वाइलेटको फोहोर फ्याल्न ढल चाहिने छैन । यसले आफैं फोहोर मलमूत्र र अन्य फोहोरलाई सफा गर्नेछ । यसले गर्दा अहिले प्रचलित ढल प्रणाली नै विस्थापित हुनेछ ।
कुरा गर्ने एआई असिस्टेन्ट
मानिसको भाषामा मानिसजस्तै कुरा गर्ने एआई असिस्टेन्ट उपलब्ध हुनेछ । यसले मानिसको कामलाई सहज बनाउनेछ ।
रोबोटिक हात
एआईको सहयोगले मानिसको दैनिकीलाई सहज बनाउन रोबोटिक हात प्रयोगमा आउनेछ । यसले वरिपरिको वातावरण बुझेर त्यसैअनुसार आवश्यक कार्य गर्न सक्नेछ ।
प्रयोगशालाको मासु
प्रयोगशालामा मासु बनाएर र वनस्पतिमा आधारित मासु प्रयोग गरेर जीवजन्तुको मासुको प्रयोग कम गरिनेछ । मासुको उपयोगका कारण संसारमा कार्वन उत्सर्जन बढी नै छ । यसबाट त्यसमा कमी आउनेछ । बियोन्ड मिट, इम्पोसिबल मिट, मेम्फिस मिटजस्ता कम्पनी यसका केही उदाहरण हुन् ।
शरीरको जाँच गर्ने ट्याब्लेट
हाल प्रयोग गरिने औषधि जस्तै यो एक प्रकारको ट्याब्लेट हुनेछ, जसले पेटमा पुगेर पाचन प्रणाली र पेटको भित्री भागको तस्बिर खिच्नेछ । त्यसैगरी यसले बायोप्सीसमेत गर्न सक्नेछ ।
क्यान्सर विरोधी भ्याक्सिन
बायोएनटेक तथा जेनटेकजस्ता कम्पनीले क्यान्सर भ्याक्सिनको क्षेत्रमा कार्य गरिरहेका छन् । यसले शरीरको रोग प्रतिरोधक क्षमता उपयोग गरी क्यान्सरका कोशिकाहरूलाई नष्ट गर्ने प्रविधिको विकास गर्नेछ ।
नयाँ परमाणु ऊर्जा
न्युक्लियर फिजन र फ्युजन दुवै रियाक्टरलाई एकसाथ डिजाइन गरेर कार्वन उत्सर्जनमा कमी ल्याइनेछ ।
कार्बनको भण्डारण
विभिन्न माध्यमबाट उत्सर्जन भएको कार्बनलाई क्याप्चर गरी भूमिगत स्टोरेज साइटमा भण्डारण गर्न सकिनेछ । क्यानाडाको स्टार्ट–अप कम्पनी कार्बन इन्जिनियरिङ तथा स्वीट्जरल्यान्डको ज्युरिचस्थित क्लाइमवर्क्स कम्पनी यसमा लागि परेका छन् ।
ईसीजी घडी
यो एक प्रकारको वेयरेवल इलेक्ट्रोडायग्राम हो । यो ईसीजीजस्तै उपकरण हो, जसलाई घडीजस्तै हातमा लगाउन सकिनेछ । यसले मुटुसम्बन्धी समस्याको समयमै पहिचान गरी उपचार गर्न सहयोग पुर्याउनेछ ।
नवजात शिशुको ज्यान बचाउने जाँच
सामान्य रगत जाँच गरी समयभन्दा पहिले नै शिशु जन्मिने समयका बारेमा पत्ता लगाउन सकिनेछ । यो प्रविधिको प्रयोगबाट धेरै बालबालिकाको ज्यान जोगाउन सकिनेछ ।