साप्ताहिक संवाददाता
हेमराज बिसी, रामबाबु गुरुङ तथा छेतेन गुरुङ स्थापित निर्देशकहरू हुन् । उनीहरूद्वारा निर्देशित चलचित्र प्रायः सफल मानिन्छन् । यतिबेला यी तीनै जना निर्देशकलाई एउटै पंक्तिमा राख्नु पर्ने कारण बनेका छन्– अभिनेता प्रदीप खड्का ।
प्रदीपलाई लिएर चलचित्र निर्माण गर्न यी तीनै जना निर्देशक पालो पर्खेर बसेका छन् । प्रदीप भने यतिबेला उज्वल घिमिरेद्वारा निर्देशित चलचित्र लभ स्टेशनको प्रचार–प्रसारमा छन्, जुन चैत २२ गतेदेखि प्रदर्शन हुँदैछ । एकपछि अर्को चलचित्रमा सफलताको झण्डा गाडिरहेका प्रदीपको क्रेज असाध्यै राम्रो छ । त्यसैले पनि उनलाई लिन निर्माता–निर्देशकहरू पालो कुरेर बस्न बाध्य छन् ।
लभ स्टेसनको प्रदर्शनपछि प्रदीपले ठ्याक्कै यही नै चलचित्रमा अभिनय गर्नेछन् भन्ने त निश्चित भएको छैन, तर बजारमा चलेको हल्ला विश्वास गर्ने हो भने उनले रामबाबु गुरुङको चलचित्र ‘कबड्डी–३’ लाई पहिलो प्राथमिकतामा राखेका छन् । यो चलचित्रको छायांकनपछि मात्र ऊनी क्रमशः हेमराज बिसी तथा छेतेन गुरुङका चलचित्रमा सत्रिय हुनेछन् ।