डेढ वर्षदेखि फेसबुक र फोन सम्पर्कमा रहेका बर्दियाका दुई महिलालाई आकर्षक रोजगारी दिने भन्दै सिरहाका सञ्जीवकुमार महतो एक वर्षअघि बर्दिया आए । लगातार फोन र फेसबुकमार्फत सदरमुकाम गुलरियाबाट करिब १५ किलोमिटर पश्चिम घर भएका ती दुई महिलासँग उनको भेटघाट भयो ।
महतोले आकर्षक रोजगारी र तलब दिने प्रलोभनमा दुवैलाई आफ्नो फन्दामा पारे । करिब आठ महिनाअघि भारतबाट फुत्किएर प्रहरी सम्पर्कमा पुगेकी बर्दियाकी एक पीडित महिलाका अनुसार उनी नेपालगन्जमा भएकी आफ्नी बहिनीमार्फत महतोको सम्पर्कमा पुगेकी थिइन् । त्यतिबेला महतो दुई रात गुलरियाको होटलमा बसेका थिए । त्यसपछि महतोले दुवै जनालाई वैदेशिक रोजगारीमा लाने प्रलोभन देखाए । महतोको प्रलोभनबाट दुवै महिला आकर्षित थिए । महतोले उनीहरूलाई मासिक लाख रुपैयाँ तलब, खाने बस्ने सुविधा आदिको आश्वासन दिएका थिए ।
महतोको कुराबाट उनीहरू प्रभावित भए । लगत्तै उनीहरूको राहदानी बनाइयो । राहदानी बनाएपछि महतोले दुवैलाई काठमाडौ आउन भने । काठमाडौंबाट खाडी मुलुक पुर्याउन समस्या हुने भन्दै भारत हुँदै जानुपर्ने सल्लाह महतोले दिएको उनीहरूको भनाइ छ । वैदेशिक रोजगारीका लागि उनीहरूलाई भारतको बनारस पुर्याइयो । बनारस पुर्याइएपछि दुवै महिलाले आफूलाई बेच्न त्यहाँ पुर्याएको छनक पाए । कपडा किन्ने बहानामा उनीहरू फुत्कने तयारीमा लागे । त्यसपछि उनीहरू गत साउनमा भागेर बर्दिया आए । बर्दिया आएपछि उनीहरूले प्रहरीमा जाहेरी दिए । उनीहरूको जाहेरीकै आधारमा प्रहरीले सञ्जीवको खोजी थाल्यो । त्यसपछि उनी सिरहाको भएको कुरा पत्ता लाग्यो । बर्दिया प्रहरीले महतोको गिरफ्तारीका लागि सिराहा प्रहरीलाई पत्र लेख्यो ।
बर्दिया प्रहरीको आग्रहपछि सिराहा प्रहरीले मिर्चैया नगरपालिका–१०, प्रिपाका ३१ वर्षीय सञ्जीवलाई पक्राउ गरेको हो । उनलाई सिराहा प्रहरीले पक्राउ गरी बर्दिया प्रहरीलाई कारबाहीका लागि बुझाएको छ । महतोमाथि १ सय ५० जना नेपाली महिलालाई भारतको बनारस पुर्याएको आरोप छ ।
पक्राउ परेका महतोले आफू एक पटक बनारस गएको स्वीकार गरेका छन् । ‘ती महिलालाई मैले बनारस पुर्याएको होइन’, उनले भने, ‘उनलाई मिला (नाम परिवर्तन) नाम गरेकी एक नेपाली महिलाले बोलाएकी थिइन् ।’ मिला नेपालमा प्रतिबन्धित विनविन नामक संस्थामा कार्यरत रहेको उनले बताए । मिलासँग आफ्नो भेटघाट समेत नभएको महतोको दाबी छ ।
यता भारतबाट फुत्केर प्रहरी सम्पर्कमा पुगेका बर्दियाका दुई महिलाले भने महतोविरुद्ध आफूलाई बेच्न भारत पुर्याएको भन्दै किटानी जाहेरी दिएका छन् । महतो नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका व्यक्ति हुन् । पक्राउ परेका महतोले आफू स्वयं वैदेशिक रोजगारीको खोजीमा रहेको बयान प्रहरीलाई दिएका छन् । महिलालाई ललाई–फकाई भारत पुर्याएको आरोप भने उनले अस्वीकार गरेका छन् । प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले भने महतो मानव बेचबिखन सक्रिय व्भएको र उनी प्रहरीको सर्वाधिक खोजीमा समेत रहेको बताएका छन् ।
महतोमाथि बर्दियालगायत जिल्लाका १ सय ५० नेपाली महिलालाई आकर्षक रोजगारी दिने प्रलोभन बनारसको लटकनियदाइस्थित युवराज सिंहको घरमा बन्धक बनाई यौन दुर्व्यवहार गरेको अभियोग छ । सिंह भारतीय जनता पार्टी बनारसको युवा मोर्चाका अध्यक्ष हुन् । बनारसमा १ सय ५० जना नेपाली महिला बन्धक भएको समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको सक्रियतामा प्रहरी नायव उपरिक्षक युवराज खड्का, जिल्ला प्रशासनका अधिकृत अर्जुन सुवेदी, मधुवन नगरपालिकाका मेयर गणेश केसी आदि बनारस पुगेका थिए । उद्धारका लागि दिल्लीस्थित नेपाल दूतावासका तत्कालीन काउन्सिलर एसएसपी पुरुषोत्तम ढकाल समेत बनारस पुगेका थिए । बनारस प्रहरीले उद्धार गर्ने क्रममा बन्धक बनाइएका सबै महिलालाई दिल्ली पुर्याएको थियो । त्यस क्रममा दिल्ली प्रहरीले सुन्दरी भनिने भारत पश्चिम बंगाल जलपाइगुडीकी दिपीका थापा, काठमाडौंका सविन शाह, गाजीपुर भारतका राजेन्द्र यादव र दिल्लीका पवन खुरानालाई पक्राउ गरेको थियो । भारत सरकारले उक्त घटना लगत्तै विमानस्थलबाट आउजाउ गर्न नेपाली राजदूतावासको नो अफजेक्सन लेटर आवश्यक पर्ने नियम बनाएको छ ।
सञ्जीवले कहिले बाँके, चाँदनी चोक, कहिले काठमाडौं त कहिले सिराहा घर भन्दै आफ्नो वास्तविक ठेगाना कसैलाई बताएका थिएनन् । निकै खोज तलासपछि प्रहरीले महतोको पहिचान गरी सिराहा प्रहरीको सक्रियतामा उनलाई उनकै घरबाट पक्राउ गरेको थियो । उनको फोटो पनि थरीथरीको भएकाले खोज तलाशका लागि सीबीआईलाई पत्र पठाइएपछि पक्राउ परेको प्रहरी उपरिक्षक मैनालीले बताए । करिब सात महिनाअघि घर फर्किएकी ३२ वर्षीया ती महिलाका अनुसार बनारस पुर्याएर सञ्जीव बेपत्ता भएका थिए । प्रहरीले महतो विरुद्ध मानव बेचबिखन तथा ओसार–पसार ऐनअन्तर्गत मुद्दा दायर गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट राहदानी बन्ना साथ उनीहरूलाई कुवेतको भिसा लिन भन्दै काठमाडौं पुर्याइएको थियो । केही दिन काठमाडौंमा बसेर उनीहरूलाई दिल्लीबाट नेपालगन्ज हुँदै भारतको सीमावर्ती रुपैडिहा लाने तैयारी गरिएको थियो । नेपालगन्जको नाकामा सोधपुछ गरे कपडा किन्न रुपैडिहा जान लागेको भन्न सञ्जीवले सिकाएको जानकारी दिँदै उनले भनिन्, ‘सञ्जीव हामीलाई रुपैडिहामा बस चढाएर बनारसको कोठीमा पुर्याइ बेपत्ता भएका थिए । बनारस प्रहरीले आठ महिना अघि सिंहको घरमा छापा मारी बन्धक बनाइएका सबैलाई दिल्ली पुर्याइएको थियो ।
१ सय १३ महिला तथा बालबालिका अझै सम्पर्कविहीन
एक वर्षयता बर्दियाका १ सय १३ महिला तथा बालबालिका सम्पर्कविहीन भए पनि अझैसम्म उनीहरूको कुनै जानकारी उपलब्ध हुन सकेको छैन । सम्पर्क विहीनमध्ये महिला ५३, बालिका ३९ तथा बालक २१ जना रहेको माइती नेपालका क्षेत्रीय प्रमुख केशव कोइरालाले बताए । तिनीहरू बिचौलियामार्फत भारत पुर्याइ सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन नेपाली महिला तथा बालबालिका भारत हुँदै खाडीमुलुक पुगेको आशंका गरिएको छ । सम्पर्कविहीन भएकाहरूका आफन्तले उनीहरूको खोजतलासका लागि माइती नेपालमा निवेदन दिएका छन् ।