साप्ताहिक संवाददाता
अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र लभ स्टेसन आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । नेपाली चलचित्रको व्यापार खस्किरहेको अवस्थामा आशा गरिएका चलचित्रलाई नै लगानी उठाउन धौ–धौ परिरहेका बेला यो चलचित्रले आशालाग्दो व्यापार गर्छ कि भन्ने आशा धेरैमा छ ।
यद्यपि विगतका चलचित्रको परिणाम हेर्ने हो भने यो चलचित्रको अवस्था पनि त्यही श्रृंखलाको अर्को कडी नहोला भन्न सकिँदैन । पारिवारिक प्रेमकथामा आधारित चलचित्र लभ स्टेसनको निर्देशन उज्ज्वल घिमिरेले गरेका हुन् । काफिया फिल्म्सको ब्यानरमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाही हुन् भने यसलाई काफिया शाही तथा कविर विक्रम शाहीले निर्माण गरेका हुन् ।
चलचित्र लभ स्टेसनमा प्रदीप खड्का र जसिता गुरुङका अतिरिक्त, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना आदि कलाकारले अभिनय गरेका छन् । आलोक शुक्लाले दार्जीलिङ, काठमाडौं, भियतनाम, इलाम, झापा आदि स्थानमा छायांकन गरेको चलचित्र लभ स्टेसनमा करिब २ करोड रुपैयाँ लगानी भएको निर्माण पक्षले जनाएको छ ।
यो चलचित्रमा मेरो आँगनीमा, घाम जुन बोलका दुईवटा गीत समावेश छन् जसको संगीत शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी तथा एलिश कार्कीले तयार पारेका हुन् । एक महिनाअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरमा प्रदीप र जस्सिताको प्रेम देखाइएको छ भने एक्सनका केही दृश्य पनि ट्रेलरमा प्रस्तुत गरिएको छ ।