साप्ताहिक संवाददाता
काठमाडौंको मैतीदेवीस्थित डान्स फिवर (राइम्स अफ सोल) ले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा दुई साता लामो स्प्रिङ क्याम्प सञ्चालन गर्ने भएको छ । आज शुक्रबार प्रारम्भ हुने उक्त क्याम्पले विद्यालय बिदा भएको मौका जुराएको छ । वैशाख २२ गतेसम्म सञ्चालन हुने क्याम्पमा बालबालिकाहरूमा अन्तर्निहित क्षमता पहिचान गर्ने उद्देश्य लिइएको छ ।
अभिनेता गजित विष्टका अनुसार क्याम्पमा ३ वर्षदेखि १४ वर्ष उमेर समूहका ५० जना बालबालिका सहभागी छन् । क्याम्पमा नृत्य, गायन, वक्तृत्वकला, भाषण तथा उद्घोषण कला, जादू, चित्रकला, आत्मरक्षा कला आदि विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।
क्याम्पसमा अभिनेता गजित विष्ट, अभिनेत्री अशिष्मा नकर्मी, अभिनेता निर्मल शर्माले अभिनय , डेनी निरौलाले संगीत, चन्द्रमणी भट्टराईले उद्घोषण, दिनेश सुनुवारले जिम्न्यास्टिक तथा पार्कर एवं महादेव त्रिपाठीले जादुका विभिन्न पक्षमा प्रशिक्षण दिनेछन् । यसका साथै दीपाश्री निरौला, दिनेश डिसी, पल शाह, आँचल शर्मा, गम्भिर विष्ट, सौगात विष्ट तथा सागर लम्साल बलेले पाहुना प्रशिक्षकका रूपमा बालबालिकाहरूलाई प्रशिक्षण प्रदान गर्नेछन् ।
नेपाल जिप्सी ज्याज फेस्टिबल
आज र भोलि गैरिधारास्थित लस एस्कोबार्समा नेपाल जिप्सी ज्याज फेस्टिभल हुँदैछ । बंगलादेशका चर्चित गायक अर्को मुखर्जी उक्त फेस्टिभलका प्रमुख आकर्षण हुनेछन् । बंगाली गायक मुखर्जी नेपालीलगायत थुप्रै भाषामा गीत गाउँछन् । हरि महर्जन, ड्यानियल जिभोनी, कौस्तभ डेले उनलाई गीतारमा तथा म्याक्स बेडउलले भायोलिनमा साथ दिनेछन् ।
स्थान : लस एस्कोबार्स, गैरीधारा समय : साँझ ७ बजे
विकेन्ड आर्ट
आज शुक्रबार बौद्ध टुसालस्थित हयात रिजेन्सीमा कला प्रदर्शनी हुँदैछ । हयातको तारागाउँ म्युजियममा हुन लागेको कला प्रदर्शनीमा विभिन्न कलाकारका चित्रहरू राखिनेछन् । यो कला प्रदर्शनी सुशीला आर्ट्स एकेडेमी तथा स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय राजदूतावासले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् ।
समय : विहान १० देखि साँझ ६ बजेसम्म
आयोजक : अभिस्मी आर्टफोलियो