जंगल सफारीका लागि देश–विदेशमा परिचित पर्यटकीय क्षेत्र हो — सौराहा, तर यो चैतको दुई साता सौराहामा साहित्यकारहरूको पनि राम्रै जमघट भयो अनि साहित्यका बारेमा मन्थन चल्यो ।
चैत्र ९ गते शनिबार भरतपुरको कविडाँडा साहित्य समाजले नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर सौराहामा ‘राष्ट्रिय आख्यान विमर्श’ को आयोजना गरेको थियो । नेपाली आख्यानको समसामायिक अवस्था केलाउन देशका नामी आख्यानकार एवं समीक्षकहरू उक्त विमर्शमा जुटेका थिए । उक्त अवसरमा आख्यान अर्थात् उपन्यास, कथा तथा लघुकथाको पछिल्लो १०/१५ वर्षको अवस्थाका सम्बन्धमा जानकारी दिन अनुसन्धानमा आधारित कार्यपत्रहरू समेत प्रस्तुत गरिए ।
प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती स्वयं उपस्थित ऊक्त कार्यत्रममा आख्यानकार ध्रुवचन्द्र गौतम, सनत रेग्मी, माया ठकुरी, नारायण ढकाल, नारायण वाग्ले, नयनराज पाण्डे, अभय श्रेष्ठ, अमर न्यौपाने जस्ता स्रष्टा सहभागी थिए । नेपाली कथाका विषयमा रजनी ढकाल, उपन्यासका बारेमा रामजी तिमिल्सिना तथा लघुकथाका बारेमा पुष्करराज भट्टले कार्यपत्र पेस गरे । नेपाली आख्यानलाई देश बाहिरसम्म के–कसरी फैलाउने भन्ने विषयमा कार्यपत्र पेश गर्दै महेश पौड्यालले अनुवादले मात्र यो काममा सहयोग नपुग्ने बताए ।
समीक्षकहरू लक्ष्मण गौतम र धनप्रसाद सुवेदीले मन्थनलाई मजबुत बनाउन आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरेका थिए । आख्यानकार ध्रुवचन्द्र गौतमले पाठकको स्वभाव बुझेर उसलाई मन पर्ने र आवश्यक विषय दिन लेखकहरू नै सजग हुनुपर्ने सुझाव दिए । आख्यानकार नारायण वाग्ले, नारायण ढकाल, अमर न्यौपाने तथा रेणुका सोलुले आख्यानमा राजनीति र राजनीतिमा आख्यानका विषयमा अभय श्रेष्ठसँग मन्थन गरेका थिए । नेपाली आख्यानमा नारीको, बद्लिँदो तस्बिरका सम्बन्धमा कुमारी लामाको मध्यस्थतामा अर्चना थापा, नयनराज पाण्डे तथा मनिषा गौचनले चर्चा गरेका थिए ।
सौराहामा ऊक्त कार्यत्रमले साहित्यिक तरङ्ग छोडेको थियो । अर्को साहित्यिक कार्यक्रमका लागि सौराहाले हप्ता दिन पनि कुर्नु परेन । चैत १५ गते साहित्यकारहरू फेरि सौराहामा जुटे । उनीहरूले दुई दिनसम्म सौराहालाई साहित्यिक वातावरणमा डुबाए जसमा नारायण ढकाल, नयनराज पाण्डे तथा अमर न्यौपाने दोहरिएका थिए भने खगेन्द्र संग्रौला र सुविन भट्टराई थपिएका थिए । विषय र सन्दर्भ पहिलेको भन्दा फरक थियो ।
चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको समूहले सौराहामा उक्त मेडिकल लिट्रेचर मेला सम्पन्न गरेको हो । चैक्र १५ र १६ गते दुई दिन चलेको मेलामा आख्यान लेखनमा सत्रिय चिकित्सक तथा अन्य आख्यानकारहरू सहभागी थिए । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबीबीएस अध्ययनरत साहित्यप्रेमी विद्यार्थीहरूको पहलमा मेडिकल लिटरेचर मेलाको सुरुवात भएको हो ।
डा. गोविन्द केसीले मेलाको उद्घाटन मात्र गरेनन् विपद्का बेला उद्धार र उपचारका लागि देश– विदेशमा खटिँदाको अनुभवसमेत सुनाए । चिकित्सा शिक्षाका सन्दर्भमा उनले आफूले सुरु गरेको अनशनको औचित्य पनि प्रस्ट्याए । स्वस्थ्य हुनुको मूल्यका विषयमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो अनुभव प्रस्तुत गरे । डा. रामेश कोइराला, डा. सरोज धिताल तथा डा. जीवन क्षेत्रीले चिकित्सा बाहिरको स्वास्थ्य तथा डाक्टर हुनुको अर्थका बारेमा चर्चा गरे भने विश्लेषक हरि शर्माले सत्याग्रहका सम्बन्धमा मन्तव्य दिए ।
सुविन भट्टराईले सञ्चालन गरेको सत्रमा आख्यानमा पात्र छनौटका विषयमा नयनराज पाण्डे र अमर न्यौपानेले आ–आफ्नो धारणा प्रस्तुत गरे । उद्घाटनका दिन चिकित्सक तथा साहित्यकारसमेत गरेर १३ जनाले कविता सुनाए । दोस्रो दिन डा. सुधा शर्मा र विष्णु विष्टले चिकित्सा पेशामा लागेका महिलाहरूको संघर्षका कथा वर्णन गरे भने दुर्गम क्षेत्रमा कार्यरत डाक्टरका बारेमा डा.सुमन कर्माचार्य एवं डा.समिर लामाले अनुभव सेयर गरे ।
ठुलै साहित्यकारको परिचय बनाएका खगेन्द्र संग्रौला र नारायण ढकाल डाक्टरका पिता पनि रहेछन् । उनीहरूले उपचार सेवा र सन्तानको शिक्षा तथा पेशाका बारेमा रोचक स्मृतिहरू सुनाए । डाक्टरले किन लेख्ने ? भन्ने विषयमा कृतिहरूसमेत सार्वजनिक गरिसकेका डा.सरोज धिताल, डा. रामेश कोइराला तथा डा. रवीन्द्र समीरका धारणा सुनेपछि मेला सम्पन्न झएको थियो ।
कार्यक्रम आयोजक समितिका संयोजक विशद दाहाल सौराहाको कार्यत्रमले आफूहरूलाई निकै प्रभावित गरेको बताउँछन् । समितिका सदस्य आविष्कार चापागाईंका अनुसार मेडिकल लिटरेचर मेलाको अर्को संस्करण पनि चितवनमै गर्ने सोच छ । सौराहा क्षेत्रका पर्यटकीय होटलहरूको संस्था क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे आफैं फनि साहित्यकार हुन् । चितवनमा मन्थनसहितका साहित्यिक कार्यक्रम विरलै हुने गरेका छन् । यस्ता कार्यत्रमले पर्यटनमा समेत सहयोग पुग्ने उनको ठम्याइ छ ।