साप्ताहिक संवाददाता
घोडा मानिससँग कतिसम्म नजिक छ भने मानिसले घोडालाई आफ्नो सामाजिक तथा सांस्कृतिक संस्कारहरूमा समेत प्रयोग गर्छन् । उदाहरणका लागि विवाहमा दुलाहा घोडामा चढ्नु र लडाइँमा सेनाले घोडाको उपयोग गर्नुलाई लिन सकिन्छ ।
घोडामात्र यस्तो जीव हो, जसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले समेत मानिसलाई जस्तै एउटा खेलाडीका रूपमा मान्यता दिएको छ । यसैकारण ओलम्पिकलगायतका कतिपय अवसरमा घोडासँग सम्बन्धित खेल पनि हुन्छन् र घोडाले समेत पदक जित्छ ।
औषधी विज्ञानमा पनि घोडाको ठूलो महत्व छ । अहिले पनि सर्पको डसाइको उपचारका लागि वैज्ञानिकहरू घोडाको रगत प्रयोग गर्छन् । सर्प डसाइको औषधी बनाउन घोडाको रगतमा सर्पको विष मिसाएर एक किसिमको सिरमको विकास गरिन्छ । उक्त सिरमबाट नै सर्पको डसाइबाट बचाउने औषधी निर्माण गरिन्छ ।
मंगोलियालगायतका कतिपय देशमा घोडाको मासु सबैभन्दा लोकप्रिय मानिन्छ । ती देशमा घोडाको मासुबाट अनेकन स्वादिला परिकार समेत तयार पारिन्छ ।